• ६ असोज २०८३, मंगलबार
  • १०ः५४ बिहान

न जन्ती आए न दुलाहा, पार्टी प्यालेसमा दुलही पक्ष पर्खेेको पर्ख्यै

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार ०७:०३

काठमाडौं । बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौँमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो ।

National Life

बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्काै चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन्। केटी पक्ष फोन डायल गर्न थाले। आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वरमा पारेर आफ्ना माइला बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो।

जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो। आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे। वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्यालेसमा पुगेर सबै जानकारी लियो। डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो। उनीहरूको कुरा सुनेर म चकित परें।’

Classic Tech Mobile
Classic Tech Desktop

१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो। राति अबेरसम्म पनि जन्ती आएनन्, केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो। उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर बसेका रहेछन्। ‘हामी पुग्दा ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन्।’

विवाहको निम्तो कार्डका लागि केटाले दिएका बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो। केटाको वास्तविक नाम साहिल बस्नेत रहेको प्रहरीले पत्ता लगायो।

काठमाडौंबाट पठाइएको फोटोमा रहेका बस्नेतलाई प्रहरीले बुधबार पोखरा विमानस्थलबाट प्रहरीले देख्यो। रोक्यो। चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो। विदेशी मुद्राको स्रोत नखुलेपछि उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व विभागको बुटवल कार्यालय पठाएको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

प्रतिकृया