दिनहुँ नयाँ रेकर्ड कायम गर्दै सुन
प्रकाशित मिति
२०७६ फाल्गुन ८ गते, बिहीबार ०८:००
काठमाडौँ । सुनको मूल्यले बुधबार पुन : नयाँ रेकर्ड कायम गरेको छ । मङ्गलबारभन्दा प्रतितोला चार सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपियाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार आठ सय रुपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत पुसमा अमेरिका र इरानबीच तथा अमेरिका र चीनबीचको द्वन्द्व बढेका कारण सुनको मूल्य निरन्तर बढेर ७५ देखि ७६ हजार रुपियाँ पुगेको थियो तर यतिबेला भने चीनको उहान प्रान्तबाट फैलिएको कोभिड १९ भाइरसको प्रभाव सुन बजारमा पनि परेको बजार विश्लेषकहरूको भनाइ छ । सुनको मूल्यवृद्धिको प्रवृत्ति हेर्दा नेपाली बजारमा प्रतितोला करिब ८० हजार रुपियाँ पुग्ने अनुमान गरिएको सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।
सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाए पनि नेपाली बजारमा सामान्य चहलपहल भने देखिएको छ । विवाह, ब्रतबन्धलगायतका शुभ साइत परेका कारण पनि बजारमा सुन खरिदकर्ता रहेको बज्राचार्यले बताउनुभयो ।
माघमा बैङ्कबाट सुन निकाल्नु नै नपरे पनि फागुन लागेपछि दैनिक २० देखि २५ केजीसम्मको व्यापार हुने गरेको बज्राचार्यले बताउनुभयो । नयाँ सुन खरिद गर्ने र पुराना साटफेर गर्ने पनि उत्तिकै रहेको उहाँको भनाइ छ । सुनको मूल्यसँगै चाँँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ९०५ रुपियाँमा किनबेच भएको छ ।






प्रतिकृया