चीनबाट ल्याइएका नेपालीको निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गरिने
प्रकाशित मिति
२०७६ माघ २७ गते, सोमबार ०६:४१
काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य अवस्था निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न लागिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।
क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले भोलि (सोमबार) अभिमुखिकरण तालिम समेत दिने तयारी भएको सहप्रवक्ता दाहालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालका अनुसार मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीको ६० जनाको टोली चीनबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीमा खटिने छन् ।
सरकारले क्वारेन्टाइनमा आवश्यक पर्ने स्वास्थ्य तथा अन्य सामाग्री व्यवस्थापनको तयारी समेत गरीरहेको प्रवक्ता दाहालको भनाइ छ । सरकारले निर्देशन दिएसँगै खरिपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका दुई भवनलाई खालि गरिएको छ । चीनमा कोरोना भाइरसको संक्रमणबाट ८ सय भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै ३५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण फैलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्काउन आग्रह गर्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएको आज (आइतबार) एकसाता पूरा भएको छ । चीनमा कोठाभित्रै थुनिएका नेपालीहरुलाई उद्धार नगरेका भन्दै चीनमा रहेका नेपालीका आफन्तहरु यतिबेला काठमाडौमा विभिन्न मन्त्रालय धाइरहेका छन् । चीनमा रहेका नेपालीका आफन्तहरुले आफ्ना छोराछोरीको उद्धारमा सरकारले पहल नगरेको भन्दै सहयोगका लागि पहल गरिदिन आग्रह गर्दै आज(आइतबार) राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए ।






प्रतिकृया