• २१ भदौ २०८३, आइतबार
  • १०ः४१ बिहान

क्षेत्रफल विवाद निक्र्योल गर्न सर्वोच्चले माग्यो ऐतिहासिक दस्तावेज

प्रकाशित मिति

२०७६ पुष १७ गते, बिहीबार ०६:५७

काठमाडौं, सर्वोच्च अदालतले नेपालको सीमा, नक्सा र क्षेत्रफलबारे संयुक्त राष्ट्रसंघको सदस्य हुँदा पेस गरेको दस्तावेजसहित उपलब्ध सबै कागजप्रमाण झिकाएको छ। तथ्यप्रमाणका आधारमा सीमा, नक्सा र क्षेत्रफल विवाद निक्र्योल गर्न सर्वोच्चले बुधबार ऐतिहासिक ‘डकुमेन्ट’ माग गरिएको हो।

National Life

न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गरी बुझाउन आदेश दिएको हो। सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिको अनुसूची, प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेस गर्न आदेशमा भनिएको छ। सर्वोच्चले सुगौली सन्धिपछि तयार भएको नेपालको आधिकारिक नक्सासमेत झिकाएको छ। ‘नेपाल सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संगठनहरूको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्शाउने कुनै सन्धि, नक्सा वा दस्तावेज पेस गरेको भए त्यसका प्रतिलिपि लिखित जवाफका अनुसूचीका रूपमा पेस गर्न लगाउनू,’ आदेशमा भनिएको छ।

संविधान जारी हुँदाका बखतको नेपालको दार्चुलास्थित लिम्पियाधुरा क्षेत्रको प्रश्न समाधान गर्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सामग्री पनि पेस गर्न आदेशमा उल्लेख छ। सन् १८२७ को इस्टइन्डिया कम्पनीद्वारा प्रकाशित नक्सा उपलब्ध भए पेस गर्न पनि आदेशमा भनिएको छ। सन् १८४६ मा लन्डनबाट प्रकाशित भएको भनिएको नेपालसहितको नक्साको प्रतिलिपिसमेत नापी विभागको लिखित जवाफको अनुसूचीका रूपमा पेस गर्न आदेशमा भनिएको छ।

Classic Tech Desktop

यस्तै राष्ट्रिय योजना आयोग तथा अन्य कुनै निकायमा नेपालको नक्सासम्बन्धमा कुनै कार्य भएको भए त्यस्ता सामग्री पनि झिकाइएको छ। दार्चुलास्थित लिम्पियाधुरा क्षेत्रको प्रश्न समाधान गर्ने कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सामग्री पनि सरकारसँग मागिएको छ।
अन्नपूर्ण पोष्ट्बाट साभार ।

प्रतिकृया