• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

भव्य रुपमा भयो भ्रमण वर्षको उद्घाटन

प्रकाशित मिति

२०७६ पुष १७ गते, बिहीबार ०६:३४

काठमाण्डौं ,बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा औपचारिक रुपमा उद्घाटन गरिएको छ ।हिजो दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुको साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए । वौद्ध धर्मालम्बीले बौद्धसम्बन्धी पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।

Kamana Sewa

उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाली चलचित्रका महानायक राजेश हमाल मञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

Classic Tech Desktop

त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनसम्बन्धी सामग्री बोकेर झाँकी प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।

शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गर्नु भएको थियो । सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो ।

समारोहमा उपस्थित दर्शकले भ्रमण वर्षको मस्टक यति अभिरुचिपूर्वक अवलोकन गरेका थिए । उनीहरु यतिको अगाडि बसेर फोटो खिचाउन व्यस्त थिए । भ्रमण वर्षको लोगो अङ्कित ब्यानर चार वटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।

भ्रमणवर्ष सफल बनाउनका लागि पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता र सातवटै प्रदेशमा मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको भिडियो सन्देश देखाइएको थियो । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले भ्रमण वर्षको शुमकामना दिँदै सफल पार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिकृया