• 4:08 am

निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनको तयारी तिब्र

प्रकाशित मिति

December 29, 2019

काठमाडौँ, राष्ट्रिय सभाको १८ सिटका लागि माघ ९ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगल तयारी तिब्र गरेको छ । उक्त निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरणसमेत प्रदान गरिसकेको छ । यही पुस १५ गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । उक्त निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम हुनेछ ।

निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ । उन्साठ्ठी सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एकतिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ । आगामी फागुन २० गते पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

आयोगले उक्त निर्वाचन प्रयोजनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र तोकेको छ ।त्यस्तै, प्रदेश नं ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन, सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ ।

उक्त निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल जम्मा दुई हजार ५६ मतदाता कायम रहेका छन् ।

प्रतिकृया