भक्तपुर नगरभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७६ मंसिर ४ गते, बुधबार १०:३७
भक्तपुर, भक्तपुर नगरपालिकाले मंगलबार भक्तपुर नगरभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम सम्पन्न गरेको छ ।नगरपालिकाको सभाकक्षमा भएको भेलालाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले बजारमा राखिएको जथाभावी सामानका कारण यातायातलाई अप्ठेरो पर्ने र दुर्घटना पनि हुनेतर्फ सचेत पार्नुहुँदै सडक आवागमनमा बाधा नपुग्ने ढंगले आफ्नो व्यवसायलाई सञ्चालन गर्न अनुरोध गर्नु भएको छ ।
बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद नाघेको सामान, किरा परेको, नक्कली सामान तथा अत्यधिक अखाद्य रंगरोगन भएको भेटिएको हुँदा जनताको स्वास्थ्यमा असर पुग्ने कार्य गर्न नहुने बताउनु भयो।संसारको सबभन्दा राम्रो नगर बनाई भक्तपुरको संस्कृति देशभर फैलाई नगरबासीलाई सु–सँस्कृति बनाउने उद्देश्य रहेको बताउँदै नगर प्रमुख प्रजापतिले सडक र सडकपेटीमा सामान राख्दा दुघर्टना भई जीउ धनको असुरक्षाको जिम्मेवारी को भन्दै बरु पसलेहरुले आफ्नो पसल अगाडि सफा गरी पसल व्यवसायीहरु आफैले गमला राखे राम्रो हुने बताउनु भयो ।

उहाले नगरबासीहरुको सुझाब अनुसार दरवार क्षेत्र र दत्तात्रय क्षेत्रमा गमलाको व्यवस्था गरेको साथै धुलो उड्ने समस्या र बाटोको खाल्डाखुल्डीले पर्यटक र बटुवाहरु लड्ने सम्भावनालाई मध्य नजर गरी सुरक्षित र आकर्षक बनाउन ढुगां छपाई गरेको बताउनु भयो।

लाय्कुध्वाका र पचपन्नझ्यालमा आगलागि र करेन्टबाट सुरक्षित तरिकाबाट आधुनिकता प्रयोग गरी बत्तिको व्यवस्था गरिएको बताउँदै उहाले रात्रीकालीन पर्यटन व्यवसाय बिकासको लागि सांस्कृतिक केन्द्र बनाउन जगसमेत खनि सकेको बताउन्ु भयो ।
नगर राम्रो र सफा गर्नु बिदेशीको लागि मात्र नभई नगरबासीहरुको लागि पनि भएको बताउनु भयो।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले व्यवसायीहरुको भेलाको उद्देश्य बारे बताउँदै उपभोक्ताको स्वास्थ्यलाई नकारात्मक असर पर्ने काम गरेमा कानुनी सजाय हुनेमा सजग हुनुपर्ने बताउनु भयो ।कार्यक्रममा वडा निरिक्षक रामकृष्ण प्रजापतिले नसर्ने रोगका कारण धेरै मानिसहरुको अकाल र अल्पआयुमै मृत्यु भई रहेकाले अखाद्य खानाका कारण भएकोले सचेत रहन अनुरोध गर्नुृ भयो ।
कार्यक्रममा उपस्थित व्यवसायीहरुले बाटोमा सामान राख्ने हटाउनुपर्ने, हकर्स नियन्त्रणमा ध्यान दिनुपर्ने, साना व्यापारीसँग थोरै कर लिनुपर्ने, निर्माणाधीन सार्वजनिक शौचालय समयमै सम्पन्न गर्नुपर्ने, पर्यटक सेवा काउण्टरमा स्पष्ट अंग्रेजी भाषा जानेको र पन्ध्र डलर लिएकोको औचित्यता बताउन सक्ने कर्मचारीहरुमात्र राख्नुपर्नेलगायतका सुझावहरु दिनु भएको थियो ।




प्रतिकृया