• 8:57 pm

कागेश्वरी महामेलामा हजारौं भक्तजनले दर्शन गरे

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०५:५१

काठमाडौं, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा रहेको कागेश्वरी महादेवको मन्दिरमा लाग्ने तीनदिने महामेलामा शुक्रवार करिब ७५ हजार भक्तजनले दर्शन गरेका छन् । नगरपालिकाले एक लाख ७५ हजार भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिए पनि करिब ७५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका हुन् । नेपाली समाजमा कसैलाई कागले छोएमा मा बिष्ट्यामा दशा लाग्छ भन्ने भनाइ छ र उक्त व्यक्तिले कागेश्वरी मन्दिरको दर्शन गरेपछि उक्त दशा हट्ने जनविश्वासका कारण कागे अष्टमीका दिन मन्दिरमा भक्तजनको भीड लागेको हो । साथै मन्दिरको दर्शन गरेपछि सुख, शान्ति, समृद्धि पाइ परलोकमा मोक्ष हुने अपेक्षाले पनि मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

विशेष गरी तामाङ् समुदाय आफ्नै सँस्कृति अनुसार ड्याङ्गो बजाएर मेला भर्न आएका छन भने नेवार समुदायले विभिन्न झाँकी सहित मेलामा उपस्थित हुँदा मेलालाई थप आकर्षण बनाएको थियो । मेलाले स्थानीय उत्पादनसहित, विभिन्न खेलकुदका गरी ५२ वटा स्टल राखिएका थिए । मेलामा सहभागि हुन उपत्यका लगायत नुवाकोट, धादिङ्, काभ्रे, गोर्खा, रसुवा, रामेछाप वखलढुङ्गा लगायतका जिल्लाबाट सहभागि भएका भएको मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

कागेअष्टमीको एक महिनापछि दसैंको महाअष्टमी आउने र कागेअष्टमीको मेलाले दसैंको समेत प्रारम्भ भएको संकेत गर्ने भनाइ रहँदै आएको छ । किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि त्यस मन्दिरको नाम कागेश्वरी महदेव मन्दिर रहन गएको हो भन्ने जनविश्वास रहँदै आएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाले जानकारी दिनुभयो ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास भएकाले पनि गोसाइकुण्ड जाने अधिकांश व्यक्ति कागेश्वरी कागेअष्टमीका दिन मन्दिर पुगेका हुन् । मेला मूल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिका वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेलले मेला आएका दर्शकले कागेश्वरी नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा आफैं परिचित भएको बताउनुभयो । मेला भर्ना आएका दर्शकलाई नगरपालिकाले ११ वटा समिति बनाएर मेला व्यवस्थापन गरिएको थियो ।

नगरपालिकाले अहिले मन्दिरको विस्तृत परियोजना प्रस्ताव डिपिआर तयार गरेर मन्दिरको भौतिक पुननिर्माण कार्य गरिरहेको छ । मन्दिर क्षेत्रबाट उपत्यका स्पष्ट र रमणीय रुपमा देख्न सकिने भएकाले मन्दिरमा पुगेपछि दर्शकहरु मोहित हुने गरेका छन् । नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको छ । अहिले मन्दिरको विस्तृत परियोजना प्रस्ताव ( डिपिआर) निर्माण गरी मन्दिर क्षेत्रको भौतिक संरचना निर्माण भइरहेका छन् ।

कागेश्वरी महादेव मन्दिर परिसर पुग्दा जोकोहीको पनि मन आन्नदित हुन्छ । कागेश्वरी महादेवको मन्दिर मुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको पनि मन लोभ्याउने गरेको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढदै गएका नगरपालिकाले जनाएको छ । यस वर्ष नगपालिकाले मेला भदौ १९, २० र २१ गते तीनदिनसम्म मनाएको छ । १९ गते मन्दिरको महिमाको रुपमा कवि गोष्ठि गरिएको २० गते कागेश्वरीको महामेला सम्पन्न भएको र २१ गते मन्दिर परिसर सरसफाइ गरी मेला समापन गरिने कार्यक्रम भएको अध्यक्ष गजुरेलले बताउनुभयो ।

प्रतिकृया