गौहत्यारालाई भदौ २४ गतेसम्म पक्राउ नगरे नेपाल ठप्प पार्ने चेतावनी : विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति
प्रकाशित मिति
२०७६ भाद्र १७ गते, मंगलवार ०५:०८

काठमाडौं, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौहत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उप-महानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर ३७ गाईको हत्या एवम् ८६ वटा गाई घाइते हुने गरि गरिएको गौहत्या काण्डको संघले घोर भत्र्सना गरेको छ ।
समितिका महासचिव रोसन जङ्ग बस्नेतको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ-माताको दुध मात्र नभएर गौ-मुत्रलाई समेत पवित्र मान्दै आएका छौं ।
यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन् ।’ कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ-संरक्षणमा लाग्नको लागि जोड दिएका छन् । उनले गौमाताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिक रुपमा निकम्मा सावित हुने दाबी गरे ।
हालै भएको गौहत्याको बारेमा पनि उनले भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुले यस घटनाका बारेमा बोलेका छन् । उनीहरु सबैले गौहत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् ।
प्रतिकृया