धुन्चे–स्याफ्रुबेशी सडक मर्मत सुरु
प्रकाशित मिति
२०७६ भाद्र २ गते, सोमबार ०८:५१
रसुवा, पासाङल्हामु मार्गको धुन्चे–स्याफ्रुबेशी सडकखण्डमा जीर्ण सडक मर्मत सुरु गरिएको छ। जीर्ण सडकमा जोखिम मोलेरै सवारीसाधन सञ्चालन भइरहेको र सवारी सञ्चालनमा कठिनाई भएको चौतर्फी गुनासो बढेपछि सडक मर्मत सुरु गरिएको हो। आइतबार धुन्चे–स्याफ्रुबेशी सडकखण्डको खोपाङ भीरमा सोयलिङका लागि सशस्त्र प्रहरी र सडकका कर्मचारी खटिएका छन्। नौ जना सशस्त्र प्रहरी र पाँच जना सडक डिभिजन कार्यालयका कर्मचारी परिचालन गरी सोयलिङ गर्ने काम सुरु गरिएको छ।
त्यसका लागि गोसाइकुण्ड गाउँपालिकाले एउटा ट्रक उपलब्ध गराएको छ। स्याउबारीदेखि स्याफ्रुसम्मको सडकखण्डमा दर्जनौं ठाउँमा खाल्टाखुल्टी परेको छ। आइतबार खोपाङ भीरको उकालोमा १५ मिटर रक सोयलिङ गरिएको छ। त्यस्तै, सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक डिभिजनका कर्मचारीसहित करिब ३० जना खटाई सडक मर्मत गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। धेरै बिग्रिएको स्थानमा मात्रै सुरक्षाकर्मी परिचालन गरेर काम गरिने र बाँकी स्थानमा सडक डिभिजन कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनु भयो ।





प्रतिकृया