म्याग्देको पर्यटन विकास योजना तयार
प्रकाशित मिति
२०७६ श्रावण २४ गते, शुक्रबार ०२:१६
दमौली, ‘पर्यटन विकास एउटै लक्ष्य : म्याग्दे गाउँपालिकाको उज्ज्वल भविष्य’ मूल ध्येयका साथ तनहुँको म्याग्दे गाउँपालिकाले आवधिक पर्यटन विकास योजना निर्माण गरेको छ । नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने भन्ने सरकारको नीतिबमोजिम गाउँपालिकाले पाँचवर्षे ९०७४/७५–०७८/७९० पर्यटन विकास योजना बनाएको हो ।
मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङको नेतृत्वमा भौगोलिक सूचना प्रणाली विशेषज्ञ, योजनाविद्, इञ्जिनीयर लगायतको टोलीले गाउँपालिकाको पर्यटन विकास योजना तयार गरेको हो ।

पर्यटन स्रोतहरुको संरक्षण एवं विकास गर्ने र पर्यटन उद्यमशीलताका साथै गाउँपालिकाको दीर्घकालीन सोचमा केन्द्रित भई गरीबी, अशिक्षा तथा विकासका मूलधारबाट वञ्चित जाति, वर्ग, क्षेत्र र समुदायलाई गुणात्मक जीविकोपार्जनको अवसर प्रदान गर्ने उद्देश्यसहित पर्यटन विकास योजना तयार गरिएको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

“पर्यटन विकासको अवस्थालाई प्रवद्र्धन गर्नाका साथै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने योजनाको मुख्य उद्देश्य हो”, रानाले भन्नुभयो, “यसले स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याई समावेशीमूलक आर्थिक विकासमा योगदान पु¥याउने विश्वास लिएका छौँ ।” उहाँका अनुसार प्रकृति र संस्कृतिको धनी गाउँपालिकाको विकास पर्यटनबाटै सम्भव रहेकाले पर्यटन गतिविधिलाई आर्थिक विकासको मूल आधार बनाई योजनाबद्ध ढङ्गबाट कार्यान्वयन गरिनेछ ।
पर्यटन विकास योजनाले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन, आन्तरिक एवं बाह्य पर्यटन बजारको पहुँचमा सुधार, नयाँ पर्यटकीय सम्पदा र उपजहरुको पहिचान तथा विकास, दिगो पर्यटन विकासका भौतिक तथा सामाजिक पूर्वाधार विकास र संस्कृति संरक्षणसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार पर्यटकीय सम्पदाहरुको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गरी गाउँपालिकालाई कृषि एवं सांस्कृतिक गन्तव्यका रुपमा पहिचान गर्ने लक्ष्य लिइएको छ । घिमिरेले पर्यटन उद्योगको विकास तथा विस्तारका लागि महत्वपूर्ण सम्पदा तथा स्थलहरुको आधारमा छुट्टाछुट्टै पर्यटन क्षेत्र निर्माण गरिने जानकारी दिनुभयो ।
पर्यटन विकासका लागि गाउँपालिकाले प्रमुख कार्यनीति निर्माण गरेको छ । नेपालको संविधान २०७२ र पर्यटन नीति २०६५ का आधारमा पर्यटन विकास तथा संस्कृति संरक्षणसम्बन्धी स्थानीय कानून निर्माण गरी योजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा जनप्रतिनिधि, सरोकारवाला निकाय र विषयगत कार्यालयहरुको सहभागिता रहने गरी म्याग्दे पर्यटन प्रवद्र्धन समिति गठन गरिनेछ ।
भाषा, साहित्य, कलासंस्कृतिको छुट्टाछुट्टै कोष स्थापना गरी विद्यमान विभिन्न भाषा, साहित्य, कला, सङ्गीतलगायत समग्र संस्कृतिको विशिष्टीकृत तरिकाले संरक्षण र विकास गर्ने, बढीभन्दा बढी पर्यटक भित्र्याउन र उक्त क्रमलाई निरन्तरता दिन पर्यटन वर्ष, पर्यटन महोत्सव, सडक महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको तिवारीले जानकारी दिनुभयो ।
गाउँपालिकाको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रहरुको प्राथमिकता पहिचान गरिएको छ । पर्यटन विकास योजना निर्माणका टोली प्रमुख एवं मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङका अनुसार ग्रामीण पर्यटन, पदयात्रा पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन, जलविहार, खेल तथा मनोरञ्जन पर्यटनका क्षेत्रहरु पहिचान गरिएको छ ।
गुरुङका अनुसार पृथ्वीराजमार्गसँगै फैलिएको उर्वर फाँट, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण पदमार्ग, साहसिक पर्यटनका लागि आकर्षक स्थल, घरवासका लागि प्रचुर सम्भावना रहेका ठाउँ, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण पदमार्ग पर्यटन विकासका सबल पक्ष हुन् । यद्यपि पर्यटन विकास योजनाको केही कमजोर पक्ष पनि योजनामा औँल्याइएको छ ।
पर्यटन विकास योजना कार्यान्वयनपश्चात् गाउँपालिकामा विसं ०७९ सम्म चार लाख ५१ हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने अनुमान छ ।




प्रतिकृया