अफ्रिकन कपः ट्युनिसिया र अल्जेरिया सेमिफाइनल प्रवेश
प्रकाशित मिति
२०७६ असार २७ गते, शुक्रबार ११:०४
काठमाडौंः ट्युनिसिया र अल्जेरिया अफ्रिका कप अफ नेशन फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा ट्युनिसियाले माडागास्करलाई र अल्जेरियाले आईभेरी कोस्टलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । बिहिबार राति भएको खेलमा ट्युनिसियाले माडागास्कारलाई ३–० ले हराउँदै पराजित गरेको थियो । ट्युनिसियाका लागि फिरजानी सासी, युसुफ मिसकनी र नइम स्लेटीले एक एक गोल गरे ।
खेलको ५२ औं मिनेटमा सासीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा मिसकनीले गोल गर्दै ट्युनिसियालाई दोब्बर अग्रता दिलाए । यस्तै अतिरिक्त समयमा स्लेटीले गोल गर्दै ट्युनिसियाको जित सुनिश्चित गरे । फाईनल प्रवेशका लागि अब ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी आईभेरी कोस्टलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अल्जेरिया सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धा्रित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । निर्धा्रित समयको खेलको २० औं मिनेटमासोफियान फेगौलीले गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा आईभेरी कोस्टका जोनाथन कोडजियाले गोल गर्दै खेल बराबरीमा ल्याए । टाईब्रेकरमा आइभेरी कोस्टका विलफर्ड बोनी र सेरी डाइ पेनाल्टीमा गोल गर्न सकेन । अब सेमिफाईनल खेलमा अल्जेरियाले नाईजेरियासँग प्रतिस्पर्धा गर्नेछ ।





प्रतिकृया