स्वास्थ्यचौकीमा नसर्ने रोगको निःशुल्क चेकजाँच
प्रकाशित मिति
२०७६ असार २० गते, शुक्रबार ०५:४८
भक्तपुर, नेपालमा सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु दर बढ्दै गएपछि सरकारले विभिन्न स्वास्थ्यचौकीमा निःशुल्क रुपमा नसर्ने रोगको जाँच गर्न व्यवस्था सुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत नसर्ने रोग जाँच गर्न पेन प्याकेज नै ल्याएर विशेष गरी मुटु तथा रक्तनलीका रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र दम, मधुमेह तथा क्यान्सरसम्बन्धी रोगको निःशुल्क जाँच गरी औषधी उपचारसमेत गर्न सुरु गरेको हो ।

गत वर्ष इलाम र कैलालीबाट पाइलट प्रोग्रामको रुपमा सुरु भएको कार्यक्रम यो वर्ष प्रदेश ३ अन्तर्गत भक्तपुर र सिन्धुलीमा लागू भएको स्वास्थ्य कार्यालय भक्तपुरले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालमा अहिले सर्ने रोगभन्दा पनि नसर्ने रोगको जोखिम बढी रहेको र मृत्युदरसमेत बढेको कारण सरकारले पेन प्याकेज नै ल्याएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख पार्थमणि न्यौपानेले जानकारी दिनु भयो।
आफ्नो सवारी साधनको समय समयमा सर्भिसिङ गरे जस्तै उनले आफ्नो शरीरको पनि बेलाबेलामा स्वास्थ्य चेकजाँच गरी असल नागरिक बन्नुपर्नेमा जोड दिनु भयो ।
सन् २०१५/१६ को तथ्यांक अनुसार नेपालमा चार लाख ५ हजार तीन सय जना मानिसमध्ये ८५ प्रतिशतलाई नसर्ने रोग लागेको थियो भने १५ प्रतिशतलाई मात्रै सर्ने रोग लागेको मन्त्रालयको तथ्यांक छ ।
नसर्ने रोग लागेका मध्ये पनि ८३ प्रतिशत नसर्ने रोगका कारण ज्यान गुमाएका थिए भने १७ प्रतिशत मानिस सर्ने रोगको कारण मृत्यु भएको तथ्यांक छ ।




प्रतिकृया