सांसद बस्नेतको नेतृत्वमा एकै दिनमा भक्तपुरको १६ आयोजनाको निरिक्षण
प्रकाशित मिति
२०७६ असार १ गते, आईतवार ११:१४
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा प्रभावशाली नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत भक्तपुरको क्षेत्र नं. २ बाट निर्वा्चित भएपश्चात भक्तपुरको मुहार नै फेरिएको छ । विकासको लागि बजेट व्यवस्थापन गर्नुमात्र नभई उहाँले प्रत्येक आयोजनामा दिन रात नभनी आफै नेतृत्वदायी भूमीकामा उपस्थित हुनु नै भक्तपुरका जनताको विकास प्रतिको सपना एक पछि अर्को गर्दै पुरा हुँदै गएका हुन् ।


जनताको माग, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकासमात्र नभई उहाँकै नेतृत्वमा अन्य सरसफाई, राज्यको शुन्य लागतमा अरनिको राजमार्गमा सर्भिस ट्र्याक खोल्नु, उज्यालो भक्तपुरको अभियान अघि बढ्नु बढ्दै हिंसा, अपराध, दुर्घटना, भ्रष्टाचार न्युनिकरण लगायतका जनमूखी कार्यहरुले व्यापकता पाइरहेका छन् ।


विकास र समृद्धिको ढोकालाई खुल्ला गर्दै देशकै एक नमूनाका रुपमा तिव्र गति साथ अघि बढेको भक्तपुरमा प्रायःजसो विकासको र्याली नै हुने गरेको छ ।
यसै सन्दर्भमा सांसद बस्नेतको नेतृत्वमा शनिवार एकै दिनमा १६ वटा विकास निर्माणका आयोजनाहरुको छड्के निरिक्षण गरिएको छ । उहाँले निरिक्षणको क्रममा भएका गल्ती वा कमजोरिलाई तत्काल सुधार गरी काम अघि बढाउन सम्बन्धीत निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । उहाँले सडक निर्माणका क्रममा ढल तथा पर्खाल लगाउँदा स्थायीत्व दिने प्रकारले निर्माण गर्न निर्देशन दिनुभएको छ ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कुनै पनि विकास निर्माण गर्दा दिगो विकास तथा स्थायीत्व हुने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो । यो वा त्यो बहानामा विकास रोक्नु नहुने भन्दै कमसल सामाग्री प्रयोग गरी देखावटी रुपमा मात्र काम गरेको पाइएमा तत्काल कारवाहीका दायरमा ल्याईने समेत चेतावनी दिनुभयो ।

सरकारी बजेटलाई भरपुर प्रयोगमा ल्याई जनभावना अनुसारका विकासका कार्यहरु गर्नुपर्नेमा जोड दिँदै उहाँले गलत प्रकारले काम गरेको पाइएमा सम्बन्धीत ठेगदारलाई कम्पनी कारवाहीको दायरामा ल्याउने समेत चेतावनी दिनुभयो । उहाँले निरिक्षणको क्रममा केही सुझावहरु दिएको र उक्त सुझावहरुलाई कार्यान्यवनमा नल्याएमा गल्ती तथा कमजोरी गर्ने जो कोहीलाई कानुनी कारवाही गर्ने बताउनुभयो ।

तीन वटै तहका सरकारद्वारा निर्माण गरिएका शनिवार निरिक्षण भएका आयोजनाहरुमा सूर्य्विनायक नगरपालिका ३ नं. वडाको च्वामु सडक, सरस्वती मन्दिर, पानीट्याङ्की–सिरुटार जाने सडक, थिमीदेखी गणेश मन्दिर जाने सडक, दवाडी टोल–प्रेसस स्कुल जाने सडक, बालकोट सूर्यचोक–खुकाडोल हुँदै विरुवा जाने सडक, सल्लघारी–कटुञ्जे–चित्रपुर हुँदै लुभु जाने सडक, चित्रपुर उकालो जाने सडक, बालकोट पानीट्याङ्ककीबाट गाम्चा जाने राजकुलो सडक, गाम्चा सिकारीटारबाट तर्खगाल जाने सडक, तर्खगाल–गुण्डु– दधिकोट जाने सडक, पात्लेटार–अनन्तलिङ्गेश्वर जाने सडक, चरखण्डी–पात्लेटार जाने सडक, बालकोट हुँदै गोदावरी चाँगाथली सडक, सूनपा १ र २ जोड्ने पुल, गोदावरी खोलामा निर्माणधिन करिडोर लगायतका रहेका छन् ।

सांसद बस्नेतको नेतृत्वमा रहेको निरिक्षण टोलीमा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुनादेवी बस्नेत, सम्बन्धीत ठाउँका जनप्रतिनिधि, सम्बन्धीत सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी लगायतका जिम्मेवार व्यक्तिहरुको सहभागीता रहेको थियो ।





प्रतिकृया