• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

‘शमी’ साहित्यिक मासिक पत्रिकाको प्रकाशन प्रारम्भ गर्ने निर्णय

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०३:४१

उत्सब बजगाईं,

नेपाली भाषा, साहित्य, कला, संस्कृति र लोकसाहित्यको खोज अनुसन्धान एवं तिनीहरुको समीचिन संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्देश्यका साथ स्थापित यस शमी साहित्य प्रतिष्ठानले आगामी २०७६ साउन महिनादेखि मौलिक रुपरेखासहित ‘शमी’ साहित्यिक मासिक पत्रिकाको प्रकाशन प्रारम्भ गर्ने निर्णय गरेको छ ।
पत्रिकाको पहिलो अङ्कमा नेपाली साहित्यका विशिष्ट धरोहर शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे एकसय वर्ष प्रवेशका सन्दर्भमा उहाँहरुको योगदानबारे विशेष सामग्री समावेश गरिनेछ । साथै स्वदेशी र विदेशी स्रष्टाका कविता, गीत, गजल, कथा, निबन्ध, समीक्षा, अनुवाद, यात्रा संस्मरण आदि विधालाई समावेश गरिनेछ । पत्रिकामा भर्खरै उदाउन लागेका पालुवा साहित्यकारलाई पनि स्थान दिइनेछ । प्रतिष्ठान यसै विज्ञप्तिमार्फत् आम स्रष्टाहरुलाई आफ्ना लेख रचना पठाउन आव्हान गर्दछ । यस पत्रिकाको सम्पादकको भूमिका गोरखापत्र दैनिकका पूर्व प्रबन्धसम्पादक लक्ष्मीधर गुरागाईंले निर्वाह गर्नुहुनेछ । उहाँमा ‘मधुपर्क’, ‘मुना’ आदि पत्रिकाको समेत सम्पादनको अनुभव छ ।

Kamana Sewa


विसं. २०७१ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको यस प्रतिष्ठान एक मुनाफारहित साहित्यिक संस्थाका रुपमा क्रियाशील छ, जसले हरेक वर्ष वरिष्ठ स्रष्टा सम्मानका साथै विभिन्न पुस्तक प्रकाशित गरिसकेको छ भने अन्य कृति प्रकाशनका सङ्घारमा छन् । यस प्रतिष्ठानबाट कृति प्रकाशित गर्दा कम्तीमा दुई हजार प्रति प्रकाशित गरिन्छ । प्रकाशित सबै पुस्तकमा क्रम सङ्ख्या अनिवार्य राखिनेछ र कृति प्रकाशित भएका स्रष्टाको रु एक लाखको जीवन बिमाको व्यवस्था गरिएको छ । प्रतिष्ठानबाट प्रकाशित हुने कृतिको पाण्डुलिपि स्वीकृत हुनासाथ लेखकस्वको पचास प्रतिशत रकम स्रष्टालाई उपलब्ध गराइनेछ । 

Classic Tech Desktop


प्रतिष्ठानबाट कृति प्रकाशन हुने स्रष्टाहरुको स्रष्टा समाज (लेखक क्लव) गठन गरिनेछ । क्लवबाट आपत्कालीन कोष स्थापना गरी क्लवमा आबद्ध स्रष्टलाई आर्थिक सङ्कट परेमा उचित सहयोग गरिनेछ । यसैगरी, पठन संस्कृतिको विकास गर्न पाठक क्लव स्थापना गरी सञ्चालनमा ल्याइने निर्णय गरिएको छ ।
संस्थाले आगामी असोज ५ गते वितरण हुने गरी रु १,११,१११ (अक्षरुपी एक लाख एघार हजार एक सय एघार) राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ र रु २५ हजार राशीको ‘शमी पाठक पुरस्कार’ घोषणा गरिसकेको छ । ‘बादलभित्रको घाम’ संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माको पहिलो निबन्ध सङ्ग्रह हो । 


प्रतिष्ठानले नयाँ कोष खडा गरी सुविधासम्पन्न स्रष्टा गाउँको निर्माण गर्ने दीर्घकालीन लक्ष्य पनि लिएको छ, जुन आवास गृहमा स्रष्टाहरुले आफ्ना सिर्जनाका लहरहरु लहराउने मात्र नभएर विश्वभरिकै स्रष्टाहरुका लागि त्यो गाउँ साहित्यिक तीर्थस्थल हुनेछ । यसका लागि उपर्युक्त स्थलको खोजी समेत भइरहेको छ ।


संस्थाले नेपाली लोकसाहित्य र संस्कृतिको खोज अनुसन्धान र प्रकाशन तथा यस्ता विषयमा खोजमूलक अध्ययन गर्ने प्रतिभाहरुको शोध कार्यका लागि शोधवृत्ति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
माथिका सबै कामलाई व्यवस्थित सञ्चालनका लागि संस्थाले सातै प्रदेशमा प्रदेश कार्यालयहरु स्थापना गर्ने काम अगाडि बढाइएको कुरा समेत जानकारी गराइन्छ ।
पुनश्च, यस प्रतिष्ठानका गतिविधिलाई विगतमा झैँ तपाईँको लोकप्रिय सञ्चारमाध्यममा उपयुक्त स्थान दिई सहयोग गर्नुहुन अनुरोध छ ।

प्रतिकृया