प्रधानमन्त्री कप महिला भलिबलको उपाधी एपीएफलाई
प्रकाशित मिति
२०७७ फाल्गुन २५ गते, मंगलवार ०६:१२
काठमाडौँ: सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधी जितेको हो। उपाधी जितेसँगै एपीएफले पाँच लाख रुपैया पुरस्कार पाएको छ।
एपीएफ र पुलिस यस तीन–तीन खेल जित्दै फाइनलमा पुगेका थिए। फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित गर्यो। उपविजेता पुलिसले दुई लाख रुपैयाँ हात पारेको छ।अर्को खेलमा न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। न्यू डायमण्डले लुम्बिनीलाई २५–१६, २५–११ र २५–१३ ले पराजित गरेको थियो।
तुलनात्मक रुपमा कमजोर रहेको लुम्बिनीविरुद्ध न्यू डायमण्डले दोस्रो रोजाईका खेलाडीलाई उतारेको थियो। न्यू डायमण्डले एक लाख रुपैयाँ पुरस्कार पायो। प्रतियोगितामा त्रिभुवन आर्मी चौथो भएको छ। उसले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भइन्। उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन्।
त्यस्तै, वेष्ट स्पाइकर पुलिसकी निशा भण्डारी, वेष्ट ब्लकर एपीएफकी हिरा केसी, वेष्ट सेटर पुलिसकी कमला पुन, वेष्ट लिब्रो न्यू डायमण्डकी सलिना श्रेष्ठ, वेष्ट सर्वर न्यू डायमण्डकी प्रतिभा माली र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी हुन सफल भए। विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो।
प्रतियोगिताका विजयी टीमलाई राखेपका सदस्य सचिव रमेश सिलवाल, प्रदेश सांसद कृष्णा केसी नमुना, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, राखेपका सदस्य सुमित्रा चौधरी, नेपालगञ्जका उपमेयर उमा थापामगर लगायतले पुरस्कार वितरण गरे।







प्रतिकृया