• २४ भदौ २०८३, बुधबार
  • ३ः२१ दिउँसो

महिला प्रधानमन्त्री अबकाे आवस्यकता

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ११:०६

काठमाडौ : वर्तमान राजनीतिक अबस्था देखेर आज अधिकांश नेपाली जनताले गणतन्त्र, लोकतान्त्रिक परिपाटी र नेपालले अपनाएको शासकीय स्वरूप अर्थात् संसदात्मक शासन व्यवस्था प्रणालीलाई नै नकारात्मक रुपमा हेर्न प्रारम्भ गरिसकेका छन् ।

National Life

नकारात्मकता यो ब्यबस्था भित्र होइन, ब्यबस्था संचालन गर्ने ब्यक्तीहरू भित्र छ भन्ने हामी सबैले बुझ्नै पर्छ।समस्या समाधान ब्यबस्था परिवर्तन होइन, बरू ब्यबस्था संचालनमा लैङ्गिक परिवर्तन हुनु पनि समस्या समाधानको मुख्य उपाय हो। त्यो भनेको नै नेतृत्वको हस्तान्तरण पुरूषबाट महिलामा हुनु पर्छ भन्नेहो। तर पुरूष नेतृत्वले सजिलैसंग दिँदैनन् हामी महिलालाई नेतृत्व । हामीले खोसेर लीन सक्नुपर्छ जसको बिकल्प छैन।

महिलाको ब्यापक राजनीतिमा प्रबेश र आफ्नो काबिलियत र योग्यताको प्रदर्शन हो। महिलामा कार्यकारी प्रमुख नेतृत्वको हस्तानतरण नै नेपालको राजनीतिलाई सफलतापूर्वक संचालन गर्ने एकमात्र उपाय हुन सक्छ । ढिलो चाँडो नेपालको राजनीतिमा महिलाको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री पदको नेतृत्व आबश्यक भै सकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको राजनीतिको भबिष्य अब महिलाबाट नै तय हुनेछ। राजनीती बिषयमा काबिल महिला अब नेपाली राजनीतीमा अगाडी आउनै पर्छ। कैयन राष्ट्रहरूमा महिला राजनीतिमा अगाडि आइरहेको बेला नेपाल अछुत रहन सक्दैन । हाम्रो देशमा पनि राजनीतिमा महिलाको भागिदारी बढ्दै जानेछ र जब राजनीतिमा महिला भागिदारी बढ्दै जान्छ तबमात्र यो देशको राजनीति ब्यबस्था अबस्य सुधारउन्मुख हुनेछ।

महिला भनेको मातृशक्ति हो, उसमा प्रेम ममता र समर्पण हुन्छ। उसले आजको नेतृत्वले जस्तो गल्ती गर्न सक्दैनन्। पुरूष नेतृत्व जस्तो भ्रष्टाचार गर्दैनन्। ती पुरुष नेतृत्व जसमा प्रेम छैन, जसमा ममता छैन, जसमा भातृत्व छैन, जसमा भाइचारा छैन, जसले देशलाई जाति धर्म र भाषामा बिभाजन गरेका छन्, यो बिभाजनलाई एकतामा परिणत सिर्फ मातृशक्ति अर्थात् महिला नेतृत्व मात्र हुन सक्छ। अरू कसैले सक्दैन।

यदि हामीलाई आ- आफ्नो घरका आमा, दिदी-बहिनी, छोरी-बुहारीमा राजनीतिको ज्ञान र शासन संचालन गर्ने शक्ति छ भन्ने लागेमा राजनीतिमा प्रवेशको लागि प्रोत्साहन गरौँ, उनीहरूलाई अगाडि आउन मौका दिउँ र काँधमा काँध मिलाई अगाडि बढ्न हौसला दिउँ। तब मात्र एकदिन नेपाल राष्ट्रको बिग्रिएको राजनीतिलाई बाटोमा ल्याउने काम नेपाली महिला नेतृत्वले गर्नेछ। नेपालको राजनीतिमा परिवर्तन गरेर लोकतान्त्रिक नेपालको इतिहास लेख्ने काम सिर्फ महिलाले गर्नेछन्। पछिल्लो समय बिश्व राजनीतिको क्षितिजमा महिलाको बाहुल्यता बढ्दै गई रहेको देखिदैछ।

सन १९९० यता ३० वटा राष्ट्रको सरकार प्रमुख महिला नै रहेका छन्। बिभिन्न देशहरूमा महिलालाई राजनीतिमा र नीति निर्माणको तहमा प्रबेश गराउन बिशेष ब्यबस्था गरेको पाइन्छ । बिश्वका करीब ५० भन्दा बढि मुलुकमा महिलालाई त्यहाँको संसदमा निस्चित कोटा छुट्याई त्यही अनुसार ब्यबस्था गरेको छ। तर हाम्रो देशमा भने कुल जनसङ्ख्याको ५१ प्रतिशत महिला हुँदा हुँदै नीति निर्माणमा महिलाको उपस्थिति ज्यादै न्युन रहेको छ। नेपालको संविधान २०७२ ले त सबै क्षेत्रमा ३३ प्रतिशत महिलालाई स्थान दिनु पर्ने गरिरहेको छ। यो संबैधानिक ब्यबस्थाले नीति निर्माणमा महिलाको पहुँच बढाउने केहि प्रयास गरे पनि व्यवहारमा खासै अंगिकार गरेको देखिँदैन।

महिला र राजनीति विषयमा सन २०००मा दक्षिण अमेरिकामा भएको सर्वेक्षणले के देखाएको छ भने ७२ प्रतिशत जनता पुरूषले भन्दा महिलाले गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। ती जनताहरूले पुरूषलेभन्दा महिलाले शिक्षामा सुधार गर्न सक्छन्, कुटनितीमा समेत महिला नै प्रभावकारी हुन सक्ने भनेका छन् । यी भनाइबाट के प्रस्ट हुन्छ भने पुरूष नेतृत्वभन्दा महिला नेतृत्व सबैभन्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने कुरा विश्वमा भएको विभिन्न अध्ययनहरुले देखाएको छ।

बिश्वको प्रजातन्त्रको अध्ययन गर्दा जब हामी महिला आफ्नो परिवार भित्र प्रजातन्त्र कायम गर्न सक्क्षम हुन्छौँ भने देशमा प्रजातन्त्र कायम गर्न किन नसकौँला। पुरूषले परिवारबाटै डिक्टेटरसिप प्रणाली चलाउदै आई रहेको अबस्थामा राष्ट्र पनि ती पुरूषद्वारा संचालित हुन्छ भने त्यहाँ कहाँबाट पूर्ण प्रजातान्त्रिक ब्यबस्था कायम हुन सक्छ। कहि न कहि त डिक्टेटरसिपको अवशेष त कायमै हुन्छ। पुरूषभन्दा महिला बढि प्रजातान्त्रिक हुन्छिन्। तर पुरूष प्रधान समाजले के महिलालाई अगाडि बढ्न दिन्छ र भन्ने प्रश्न आउँछ।

अबस्य अगाडि बढ्न दिदैन हाम्रो जस्तो पुरूष प्रधान नेपाली समाजले महिलालाई। हाम्रो दिमागमा बच्चैदेखि स्त्री जाति भनेको घरको काम गर्न को लागि हो । उ प्रत्येक घरको इज्जत हुन्, स्त्री पुरूषभन्दा कमजोर हुन्छन् जसको कारण पुरुषको जति बुद्दि र विवेक हुँदैन भन्ने कुरा हाम्रो समाजले भनेको छ। हामीले सुन्दै पनि आएका छौँ ।

जसको कारण प्रत्येक नेपालीको मानसपटलमा यो कुरा छापिएरै रहेको छ। तर साचिकै भन्ने हो भने महिला पुरुष भन्दा बढी शक्तिशाली हुन्छन्।किनभने हामी सबैलाई जन्म दिने आमा नै महिला हुन्।यदि महिला नभएको भए हामी कसरी यो धर्तीमा आउथ्यौ।

जब महिलामा एउटा घरलाई जीवन भर राम्रोसँग चलाउने क्षमता हुन्छ भने राष्ट्र चलाउने क्षमता किन हुदैन। राष्ट्र पनि त एउटा घर हो यदि महिलालाई राष्ट्र कसरी संचालन गर्ने भन्ने ज्ञान राजनीति विज्ञानमार्फत प्राप्त हुन्छ भने ती महिलाले पुरुषलेभन्दा राम्रोसंग राष्ट्र संचालन गर्न सक्छिन्।

आज यस्तो समय हो जहाँ हरेक क्षेत्रमा महिलाले आफ्नो योग्यता प्रदर्शन गररिहेका छन्।सेनामा, प्रहरीमा, प्रशासनमा, बायुसेनामा महिलाहरू अगाडि बढिरहेका छन्। राजनीतिमा महिला नेतृत्व हुनको लागि सिर्फ समानतामा, प्रजातन्त्रमा बिश्वास गर्ने प्रत्येक घरका पुरुषले महिलालाई राजनीतिमा आउन घर घर बाट प्रेरणा दिनु पर्छ। पुरूषको काँधमा काँध मिलाएर मात्र महिला अगाडि बढ्न सक्छन्।

एउटा छोरीको राजनीतिमा सफलता उसको बुवाको लागि खुसी हुन सक्छ, एउटा पत्नीको राजनीतिमा सफलता उसको श्रीमानको लागि खुसी हुन सक्छ भने एउटा आमाको राजनीतिमा सफलता उसको छोराको लागि खुसीको कुरा हुन सक्छ एउटी महलिाको सफलता देशको सफलता बन्न सक्छ ।

तसर्थ प्रत्येक घरका पुरुषले आ–आफ्नो घरमा भएको महिलाका राजनीतिक ट्यालेन्टलाई अगाडि ल्याउन सहयोग एवं मद्दत गरौँ। महिला पनि शिक्षित काबिल र पुरुषभन्दा बढि राजनीति ज्ञान भएको आज नेपालमा पनि धेरै छन्। विश्वको महिला नेतृत्वको अध्ययनलाई हेर्दा के देखिन्छ भने अधिकांश महिला नेतृत्वले आफ्नो आर्थिक श्रोतको उपयोग स्वास्थ्य, शिक्षा, विकाश निर्माण र सामाजिक कल्याणमा खर्च गर्छिन् र थोरै मात्र सेना र सुरक्षामा लगानी गर्छिन्।

यदि महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न पायो भने अहिले बिश्वमा देखिएको सैनिक खर्च बृद्धि रोकिएर गरिबीनिवारणमा प्रयोग हुने थियो जसले बिश्वबाट गरिबीलाई निर्मुल पार्न सजिलो हुन्थ्यो। साथै महिला नेतृत्वमा कम भ्रष्टाचार पाइने पनि देखिएको छ। युद्ध, हिंसा, आक्रोश, आक्रमण, प्रभुत्व कायम गर्ने सोच आदि इत्यादि कुरा महिलामा भन्दा पुरूषमा बढि देखिन्छ। तसर्थ यदि महिला लाई नेतृत्वले बिश्वमा देखिएको महिला हिंसा, बलात्कार, राजनीतिक प्रतिस्पर्धा, भ्रष्टाचारिता जस्ता समाजमा र राष्ट्रमा व्याप्त समस्याहरू केही हदसम्म कम हुने थिए।

हाम्रो ५१ प्रतिशत महिला शक्ति अब राजनीतिको सिकार हुने होइन बरू राजनीतिको अंग हुनुपर्छ। महिला हिंसाको अन्त्य र बलात्कारको अन्त्य गर्न कोहि पुरूष अगाडि आउदैन । यो समस्या सदाको लागि अन्त्य गर्न अब महिलानै अगाडि आउनुपर्छ। आफ्नो समस्या अब हामी आफैले समाधान गर्नुपर्छ । अब महिला अशक्त, बाबु आमाको मायालु छोरी होइन, महिला बाबु(आमाको रक्षक अर्थात् नारीशक्तिले माता, दुर्गाको रुपमा आएर भ्रष्टाचार, कालोबजारी, हत्या, हिंसा, बलात्कारलाई सदाको लागि अन्त्य गर्नुपर्छ।

एउटा भाइको रक्षा गर्ने दिदी, एउटा बुवाको रक्षा गर्ने छोरी र एउटा श्रीमान्को रक्षा गर्ने श्रीमती र एउटा छोराको रक्षा गर्ने आमा बनेर राष्ट्र निर्माणमा सहभागी हुँदै राजनीतिमा प्रवेशमार्फत नेपालको पहिलो महिला प्रधानमन्त्री र महिला सरकार बनाउन घर घरबाट महिला राजनीतिमा आउनु पर्छ। तब मात्र यो मूलुक सच्चा लोकतान्त्रिक गणतन्त्र नेपालमा परिणत हुन सक्नेछ अन्यथा समस्या जहाँको त्यही रहनेछ।

  • रिना भट्ट

प्रतिकृया