• २ असोज २०८३, शुक्रबार
  • ५ः४२ बेलुका

डोटीबाट यात्रु नलिई फर्कियो विमान !

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार ०३:०७

डोटी, डोटी विमानस्थलको पहिलो उडान ‘पहिलो गाँसमै ढुङ्गा’ भनेजस्तै भएको छ । असोज १७ गते परीक्षण उडानपछि शुक्रबार कैलालीको गेटा बिमानस्थलबाट १६ जना यात्रु बोकेर आएको बिमानले डोटीबाट भने समयको कारण देखाउँदै बिमानस्थलमै पुगेका यात्रु छोडेर उडेको छ । समिट एयरको ९ एन—एकेएड विमान बिहान ११ वजे डोटी विमानस्थलमा अवतरण भएको थियो । यात्रुहरु झर्नासाथ चालक दलका एक सदस्यले डोटीबाट जाने यात्रुहरुलाई बस्न भने । त्यतिबेलासम्म ११ जना यात्रु मात्रै बिमान नजिक पुगेका थिए । अन्य यात्रुहरु सुरक्षा जाँच कक्षमा पुगेका थिए ।

National Life

यात्रुको टिकट काट्ने जिम्मा पाएका नन्दन कार्कीले यात्रुहरुको सुरक्षा जाँच भइरहेको बताउदा चालक दलका सदस्य एडि शेर्पाले उल्टो हपारे । ‘यो के बस हो ? जहाज चढ्ने मान्छेले समयको ख्याल गर्नु पर्दैन ?’ शेर्पाले भने ‘हामीले अरु ठाउँ पनि उडान भर्नुछ, हामी दुर्गममा उडान भर्ने मान्छे हौं ।’ उनले आफुले जे भन्दैछु त्यही हुने भन्दै एक मिनेट पनि नरोक्ने जनाउ दिए । उनले कार्कीलाई भने ‘अबदेखि यात्रुहरुलाई एयरपोर्ट समय जानकारी गराउनु ।’

यति भन्दै उनले सिधै उनले चालक विमान उडाउन संकेत गरे । सुरक्षा जाँचपछि अन्य यात्रुहरु जहाजको ढोकामै पुगिसकेका थिए तर चालक दलले ढोका बन्द गरिहाल्यो । ११ : १५ बजेको थियो, विमान उड्यो । ‘जति अनुरोध गर्दा पनि मानेनन्’ यात्रुहरुको टिकट काट्ने जिम्मेवारी पाएका कार्की भन्छन् ‘हामीलाई ११ : ३० मा विमान उड्ने जानकारी थियो तर बिमान ११ : १५ मै उड्यो ।’ विमानबाट धनगढी जाने उद्देश्य बोकेका यात्रुहरु झोला गुण्टा बोकेर फर्किए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘११ : ३० बजे उड्छ भनेर समय दिने अनि १५ मिनेट अगाडि नै उड्ने यो कहाँको नियम हो ?’ डोटी बडीकेदार गाउँपालिकाका जंगबहादुर बिक भन्छन् ‘भन्ने एकातिर गर्ने एकातिर, अनि कसरी विमान चल्छ ?’ चालक दलका सदस्य शेर्पाको भाषा शैली अशोभनीय रहेको उनी वताउँछन् । उनी थप्छन् ‘यस्तो व्यवहार त बसका सहचालकहरुले पनि यात्रुसंग गर्दैनन् ।’ डोटीका हेमराज खनालले आफू विमानको ढोकामा पुगेर फर्किनु परेको बताए । ‘हामी आइसकेका छौं, अहिल्यै विमान उडेको पनि छैन, ढोका खोल्नुहोस् भन्दा पनि मानेनन्’ उनले भने ।

नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव गणेश मौनीले चालक दलका सदस्यले अशोभनीय व्यवहार देखाएको बताए । उनी भन्छन् ‘समयको ख्याल त यात्रुहरुलाई हुनुपर्छ तर जहाजका कर्मचारीहरुको व्यवहार पनि यात्रुहरुले पचाउने खालको हुनुपर्छ ।’ नागरिक उड्डयन कार्यालयका प्रतिनिधि विशाल घिमिरेले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराउने बताए ।

प्रतिकृया