• ५ साउन २०८३, मंगलबार
  • ५:११ बेलुका

अब माइक्रोसफ्टका कर्मचारीले स्थायी रुपमै घरबाट काम गर्न पाउने

प्रकाशित मिति

२०७७ आश्विन २५ गते, आईतवार ०३:२१

काठमाडौं, कोरोना भाइरस महामारीका कारण विश्वका धेरै दिग्गज कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई कार्यालय नआइकन घरबाटै काम गर्न पाउने अर्थात् ‘वर्क फ्रम होम’को सुविधा दिइरहेका छन् । इन्टरनेटको दुनियामा प्रविधिका धेरै कामहरु गर्नका लागि कार्यालय धाइरहनु पर्दैन र घरमै बसेर भर्चुअल्ली नै गर्न सकिन्छ । कर्मचारीहरु संक्रमणको जोखिममा नपरुन् र कार्यसम्पादनमा समेत असर नपरोस् भन्नका लागि गुगल, फेसबुक तथा माइक्रोसफ्ट जस्ता कम्पनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न पाउने सुविधा दिइरहेका छन् अहिलेसम्म पनि । वर्क फ्रम होमको यो नीति महामारीको अवस्था सामान्य नभएसम्म जारी नै रहने देखिन्छ ।तर माइक्रोसफ्टले भने अवस्था सामान्य भएपछि पनि आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै कार्यालय नआइकनै आफूले चाहेको ठाउँ वा घरबाटै काम गर्न पाउने सुविधा प्रदान गर्ने भएको छ । माइक्रोसफ्टका अनुसार म्यानेजरको स्विकृति पश्चात् कर्मचारीहरुले स्थायी रुपमै घरबाट काम गर्न पाउने विकल्प प्राप्त गर्नेछन् ।

यसअघि फेसबुक र ट्वीटरले समेत घरबाटै काम गर्ने सुविधा भविष्यमा सधैंका लागि उपलब्ध गराउने संकेत गरेका थिए । गत मे महिनामा फेसबुक सिइओ मार्क जुकरबर्गले आगामी ५ देखि १० वर्षसम्म कम्पनीका आधाजसो कर्मचारीले कार्यालय बाहिर अर्थात् घरबाटै काम गर्नसक्ने प्रक्षेपण गरेका थिए । उता धेरैजसो कर्मचारीहरुले घरबाटै काम गर्ने भएपछि कार्यालयका लागि उपयोग भैरहेको ठाउँ पनि अधिकांश कम्पनीहरुका लागि बढी भएको छ । जसका कारण उनीहरुले कार्यालयको लागि प्रयोग भएको क्षेत्रफल समेत घटाउने तयारी गरेका छन् ।

Kamana Sewa

आफ्ना कर्मचारीहरुलाई पठाएको सन्देशमा माइक्रोसफ्टले डाटा सेन्टर व्यवस्थापन लगायतका हार्डवेयरको क्षेत्रमा काम गर्ने कर्मचारीहरु कार्यस्थलमा जानैपर्ने अवस्था हुने भएपनि अन्य धेरै कर्मचारीले निरन्तर रुपमा घरबाटै काम गर्ने सुविधा पाइरहने छन् । स्थायी रुपमा ‘वर्क फ्रम होम’ अबलम्बन गर्न नचाहने कर्मचारीले आंशिक समय कार्यालयमा आउने र आंशिक समय घरबाटै काम गर्न समेत पाउनेछन् । र, यसो गर्दाचाहिँ हाकिमको स्विकृति लिनुपर्ने छैन । यस्तो विधिलाई ‘हाइब्रिड मोडेल’ भनिएको छ । नयाँ निर्देशिकाको बारेमा बोल्दै माइक्रोसफ्टका प्रवक्ताले कर्मचारीहरुकै सुझावका आधारमा कम्पनीले आफ्नो रणनीति अख्तियार गर्दै आएको भन्दै कर्मचारीहरुको वैयक्तिक कार्यढाँचा तथा व्यवसायिक आवश्यकतालाई कम्पनीले सहजता प्रदान गर्ने बताए । हाल माइक्रोसफ्ट कम्पनीमा १ लाख ६६ हजार कर्मचारीले काम गर्दै आएका छन् ।एजेन्सीको सहयोगमा

Classic Tech Desktop

प्रतिकृया