• ७ असोज २०८३, बुधबार
  • १०ः१७ बिहान

बजेट सकारात्मक छ, कार्यान्वयनमा चुनौती धेरै छन्ः पूर्वअर्थमन्त्री पाण्डे

प्रकाशित मिति

२०७७ जेष्ठ १६ गते, शुक्रबार ०६:०८

काठमाडौं । नेकपा नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा चुनौती धेरै रहेको बताएका छन् ।

National Life

चालू आर्थिक वर्षको बजेटमा चालू खर्च धान्नका लागि पनि ऋण लिनपरेको तर आगामी आर्थिक वर्षका लागि सरकारले लिएको ऋण चालू खर्चमा प्रयोग गर्न नमिल्ने व्यवस्था गरिए पनि त्यो सम्भव नभएको नेता पाण्डेको भनाइ छ ।

उनले झण्डै ३ खर्ब बराबरको वैदेशिक सहायता आउन कठिन रहेको र बजेटको लक्ष्यअनुसारको ऋण परिचालन हुन नसक्दा त्यसको दबाब आन्तरिक ऋण र राजश्वमा पर्नसक्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

वैदेशिक ऋण लक्ष्यअनुसार प्राप्त हुन नसके वा लक्ष्यअनुसारको राजश्व संकलन हुन नसके सरकारले भनेजस्तो चालू खर्चका लागि ऋण प्रयोग गर्न नमिल्ने व्यवस्था निस्प्रभावी हुने उनको भनाइ छ ।

उनले भने,‘चालू आर्थिक वर्षमा आन्तरिक ऋणले चालू खर्च धान्नपर्ने अवस्था सिर्जना भएको छ । अर्को वर्ष ऋणबाट लिएको पैसा चालू खर्चमा हाल्दिन त भनेको छ बजेटमा । तर एउटा जोखिम के छ भने २ खर्ब ९९ अर्ब विदेशी ऋण लिने भनेको छ । त्यो आउने सम्भावना छैन । त्यो नहुनासाथै हाम्रो आन्तरिक ऋण र राजश्वमा चाप पर्छ । ऋणबाट आउने पैसा चालू खर्चमा हाल्दिन भनेपनि राजश्वका लक्ष्यअनुसार संकलन हुन सकेन भने आन्तरिक ऋण लिएर चालू खर्चमा हाल्नुपर्ने जोखिम छ ।’

नेता पाण्डेले सरकारले बजेटमा लिइएको आर्थिक वृद्धिदर हासिल हुन समेत कठिन रहेको भनाइ छ । उनले भने,‘बजेटको स्रोत घटेको छ । आन्तरिक र बाह्य ऋण लिने भनेको छ । अनि आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्ने भनेको छ । त्यो पूरा हुन पनि धेरै चुनौती छ । आर्थिक वृद्धिदर महत्वाकांक्षी छ ।’

संसदको अर्थ समितिका सदस्य समेत रहेका सांसद पाण्डेले कृषि, स्वास्थ्य क्षेत्रलाई बजेट महत्व दिनु स्वभाविक रहेको बताए । तर रोजगारी प्रदान गर्ने विषयमा सरकारले एकद्वार प्रणालीबाट तालिम दिने व्यवस्था मिलाउन सके राम्रो हुने उनको भनाइ छ ।

‘रोजगारीका सन्दर्भमा सरकारले एउटा मात्रै कोष बनाएर त्यही कोषबाट बैकमार्फत् दिउँ भन्ने हो । तर अहिले करिब करिब १८ अर्ब रुपैया रोजगारी सिर्जनाका लागि तालिमका लागि खर्च गर्ने भनिएको छ,’ उनले भने, ‘५० अर्बको लक्ष्य राखेर पहिला आउनेलाई पहिला ऋण दिने व्यवस्था राखेको भए लिनपर्नेले लिन्थे । ५/७ ठाउँबाट तालिम दिने व्यवस्था कार्यान्वयन गर्न समस्या हुन्छ ।’

कृषिमा आधार मुल्य निर्धारण गर्ने कुरा राम्रो रहेको, चालू खर्च कटौतिका लागि निकै धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए । यसअघि खबरहबले उनीसँग गरेको अन्तर्वार्तामा नेता पाण्डेले आगामी आर्थिक वर्षको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, कृषिमा समेत बजेट बढाउनुपर्ने, चालू खर्च कटौती गर्नुपर्ने र बजेटको आकारमात्रै ठूलो नबनाएर कार्यान्वयन हुने किसिमको बजेट बनाउनुपर्ने बताएका थिए ।

प्रतिकृया