लकडाउन र घरेलु हिंसा
प्रकाशित मिति
२०७७ जेष्ठ ७ गते, बुधबार ०४:०८
उर्मिला दाहाल
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वका करिब ५० लाख मानिस संक्रमित भैसकेका छन् । संक्रमितमध्ये १७ लाख भन्दा बढी मानिसहरु उपचारपछि घर फर्केका छन् भने ३ लाखभन्दा बढीले ज्यान गुमाउन पुगेका छन् । सन् २०१९ को अन्त्यतिर चीनको बुहानबाट उद्गम भएको यो भाइरस हाल चीन, अमेरिका, स्पेन, बेलायत, इटाली, फ्रान्स, ब्राजिल लगायत विश्वका अधिकांश देशमा फैलिसकेको छ । यो भाइरसको संक्रमण नियन्त्रण गर्न हालसम्म पनि विश्वभरको विज्ञान तथा प्रविधि पूर्णत सफल भएको छैन । नेपालमा समेत यसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेकोले उत्पन्न विपत्तितलाई न्यूनीकरण गर्न २०७६ चैत्र ११ गतेदेखि गरिएको लकडाउन हालसम्म कायम नै रहेको छ । लकडाउनको कारण रोग सर्ने सम्भावना कम भएपनि घरेलु हिंसाका घटनामा बृद्धि हुँदै गएको देखिन्छ ।
घरेलु हिंसा एक प्रकारको महामारी नै हो । घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ ले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनालाई घरेलु हिंसा भनि परिभाषित गरेको छ । घरपरिवारका सदस्यहरु एकै ठाउँमा रहँदा एकले अर्कोको भावना बुझ्न नसक्दा, सहयोग नगर्दा, आदर तथा सम्मान नगर्दा एवं सानासाना कुरामा कचकच गर्दा परिवारमा कलह भई हिंसा सुरु हुन्छ । हुनपनि घरेलु हिंसा अन्तर्गत गालीगलौज, कुटपिट, मानसिक दुर्व्यवहार, सामाजिक दुर्व्यवहार , आर्थिक दुर्व्यवहार , भावनात्मक दुर्व्यवहार, शारीरिक दुर्व्यवहार तथा यौन दुर्व्यवहार आदि पर्दछन् ।
परिवारभित्रकै शक्तिशाली वर्गले कमजोर वर्गमाथि गर्ने अपराध नै घरेलु हिंसा भएकोले यसबाट परिवारका जुनसुकै व्यक्ति पनि पिडित बन्न सक्छन् । के पुरुष, के महिला, के बालबालिका, के तेस्रोलिंगी जो कोहीपनि घरेलु हिंसा पिडित हुने भएपनि नेपाली समाजमा त्यस्ता हिंसाजन्य घटना महिलामाथि नै बढी हुने गरेकाले घरेलु हिंसा भन्नाले महिलामाथि हुने हिंसालाई नै बुझ्ने गरिन्छ । खासगरी घरभित्र हुने महिला हिंसाका कारणहरुमा आयस्रोतमा कमी, दाइजो प्रथा, संयुक्त परिवार प्रणाली, महिलालाई चुल्हो चौकामा सिमित राख्न खोज्नु, महिलालाई हेय र शंकाको दृष्टिले हेरिनु आदि पर्दछन् भने पुरुष विरुद्ध हुने शारीरिक, मानसिक, यौनजन्य, शाव्दिक वा अन्य कुनैपनि यातनालाई पुरुष हिंसाको रुपमा लिन सकिन्छ । यसका साथै बालबालिकाहरु विरुद्ध हुने शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै किसिमका प्रताडनालाई बाल हिंसाको रुपमा लिइन्छ ।
घरेलु हिंसा एउटा यस्तो जटिल समस्या हो जुन बाहिरबाट हेर्दा देखिदैन तर घरभित्रै यो भुसको आगो झै सल्किएर पारिवारिक सम्बन्धलाई नै तहसनहस पारी परिवारका सदस्यहरुलाई पिडित तुल्याउँछ । यसले खासगरी महिला तथा बालबालिकालाई बढी प्रताडित गरेपनि पुरुषसमेत पिडित बनेका हुन सक्छन् । तरपनि विश्वभरनै बढी मात्रामा महिलाविरुद्ध घरेलु हिंसा हुने गरेकोले यो विश्वभरिकै समस्याको रुपमा रहेको छ । यसबाट कुनै वर्ग, जाति,धर्म वा समाज अछुतो रहन नसकेकोले हाल यो एक सामाजिक रोगका रुपमा व्याप्त हुन पुगेको छ । यसो हुनुमा पुरातनवादी साघुँरो सोच, पितृसत्तात्मक सामाजिक संरचना, अशिक्षा, धर्मशास्त्रको प्रभाव र महिलालाई शारीरिक एवं भावनात्मक रुपमा पुरुष भन्दा कमजोर मानिने मानसिकता नै प्रमुख दोषी छन् । त्यसैले यस किसिमको हिंसा नियन्त्रण नभएमा यसका प्रकृति र परिमाण बढ्दै जानाले कुनैपनि बेला कुनै पनि व्यक्तिमाथि जघन्य प्रकृतिका अपराध हुने सम्भावना प्रवल रहन्छ । जसबाट पीडितको व्यक्तित्व विकासमा नकारात्मक असर परी पारिवारिक सद्भाव एवं एकतामा समेत असर पर्छ ।
हाल लकडाउनको कारण जघन्य अपराध घटेपनि सामाजिक अपराध बढेको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् । अधिकाश देशले लामो समय लकडाउन गरी घरबाहिर निस्किन प्रतिबन्ध गरेका कारण घरमानै बसिरहनु पर्ने भएकोले शारीरिक र मानसिक हिंसामा बृद्धि भएको देखिन्छ । जर्मन, ब्राजिल, फ्रान्स, इटाली, चीन, भारत लगायतका देशहरुमा पनि घरेलु हिंसामा बृद्धि हुँदै आएको छ । एकातिर महामारीबाट बच्नु त छदैछ त्यसमाथि घरेलु हिंसामा बृद्धि हुँदा अवस्था झन गम्भिर बनेको छ । अधिकांश कामकाजी परिवारमा लकडाउनले पारिवारिक पुनर्मिलन गरेपनि केही परिवारमा भने गम्भीर पारिवारिक हिंसा सुरु भएको छ । आर्थिक रुपमा कमजोर भएका , कुलतमा फसेका, परिवारमा बेमेल भएका परिवारमा पर्याप्त समयका कारण तनाव भै घरेलु हिंसा बढेको देखिन्छ ।
घरेलु हिंसा पारिवारिक कलह र वैमनश्यबाट उव्जने भएकाले परिवारका सदस्य नै यसप्रति सजग बन्न जरुरी छ । यसले भाइ फुटे गवार लुटेको स्थिति ल्याउन सक्ने भएकाले परिवारका सदस्यहरुको बीचमा कुनै पनि प्रकारको डर धम्कीपूर्ण व्यवहार हिंसा वा दुर्व्यवहार हुन दिनु हुँदैन । आज धेरैजसो घरेलु हिंसा मदिराजन्य पदार्थ र लागुपदार्थ सेवनका कारणबाट निम्तिएको विभिन्न तथ्यांकले देखाइरहेकाले यसप्रति सचेत भई मदिरा सेवनबाट परिवारका सदस्यहरु बच्नु र बचाउनुपर्छ । राज्यले समेत यस्ता पदार्थहरु विक्री वितरणमा प्रतिबन्ध गर्नु आवश्यक छ । यसका साथै एकापसको शङ्कालु व्यवहार, परस्त्री तथा परपुरुषसंगको संसर्ग, बेरोजगारी अवस्था, जुवातास खेल्ने बानी, बहुविवाह, छोरा नपाउनु, दाइजो प्रथा, विधवा भएका कारणले समेत घरेलु हिंसामा बृद्धि भएकोले यसप्रति सजग हुन जरुरी छ । यसका साथै समाजमा नामर्द, जोइटिङ्ग्रे , हुतिहारा, नपुंसक जस्ता शब्दहरुको प्रयोग गरी पुरुषलाई पिडित बनाउने प्रवृत्तिको जरैदेखि निर्मुल गर्न जरुरी छ । अनिमात्र महिला हुन् या पुरुष, बालबालिका हुन् या तेस्रो लिंगी हिंसाबाट मुक्त भै स्वतन्त्रताको जीवन बाँच्न सक्छन् ।
विश्वमा घरेलु हिंसामा बृद्धि भई पारिवारिक वातावरण नै खल्वलिन गएकाले विश्वका धेरै देशहरुले घरेलु हिंसा विरुद्धको छुट्टै विशेष कानुन बनाएका छन् । अमेरिका, जापान, दक्षिण अफ्रिका, थाइल्याण्ड, भारत जस्ता देशहरुमा घरेलु हिंसा विरुद्धको छुट्टै विशेष कानुन बनी कार्यान्वयन भइरहेका छन् । नेपालमा पनि घरेलु हिंसा नियन्त्रण गर्न घरेलु हिंसा (कसुर र सजाय ) ऐन, २०६६ निर्माण भै कार्यान्वयनमा भएपनि हिंसाका घट्नामा आशातीत कमी आउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र होइन, सहरी क्षेत्रमा समेत घरेलु हिंसाका घटनाहरु घटिरहेका छन् । अझैपनि धेरै मानिसहरु घरेलु हिंसाबाट पिडित रहेबाट घरेलु हिंसा न्यूनीकरण हुन नसकेको प्रष्ट हुन्छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरु हिंसा नियन्त्रणमा लागेपनि हिंसा पूर्णरुपमा नियन्त्रण हुन सकेको देखिदैन ।
अन्तर्राष्ट्रिय रुपमा नै अपराधको रुपमा स्वीकारिएको घरेलु हिंसाबाट लकडाउन हुँदा समेत विश्वका धेरै व्यक्तिहरु पिडित बनेका छन् । यसबाट बढी पिडित हुने महिला वर्ग नै भएपनि पुरुष पनि त्यस्तो हिंसाको सिकार भएका घटनाहरु प्रशस्त भेटिन्छन् । सामाजिक सुरक्षाका विषयमा विभिन्न सवालहरु उठेतापनि घरभित्र नै यातना दिने र हत्या गर्ने क्रम रोक्न सकिएको छैन । जनचेतना तथा शिक्षाको अभावले घरेलु हिंसामा बृद्धि भएको वास्तविकता थाहा हुँदा हुँदै पनि सम्पूर्ण व्यक्तिहरुलाई शिक्षित तुल्याउन सकिएको छैन । समाजमा धर्म, संस्कृति, प्रथा, परम्पराको नाममा विभिन्न हिंसा हुने गरेको वास्तविकतालाई ध्यान दिई जनचेतना फैलाउँदै विभिन्न प्रकारका घरेलु हिंसाको अन्त्यको लागि अझै प्रभावकारी कानुन निर्माण गरी बाध्यकारी कार्यान्वयनको व्यवस्था गर्न सके पक्कै पनि हिंसामा कमी आउने थियो कि ?






प्रतिकृया