• २५ भदौ २०८३, बिहीबार
  • ६ः२३ बेलुका

जीवन बीमाको आवश्यकता

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०१:५७

लक्ष्मण प्रसाद खतिवडा

National Life

बीमा बीमित (बीमा गर्ने व्यक्ति) र बिमक (बीमा गरिदिने कम्पनी) बीचको सम्झौता हो जसमा नोक्सानी भएमा सम्झौताको आधारमा नोक्सानीको क्षतिपूर्ति दिइन्छ । त्यसैले यसलाई जोखिम न्यूनीकरण गर्ने वा जोखिम अर्को पक्षलाई हस्तान्तरण गर्ने माध्यम पनि भन्न सकिन्छ । अझै जीवन बीमा भन्नाले कुनै पनि व्यक्तिको निश्चित अवधिसम्म किस्तावन्दी गरी निश्चित रकम बुझाउने तथा बीमा अवधि समाप्त भएपछि एकमुष्ठ बीमाङ्क र बोनस निजले वा बीमा अवधि समाप्त नहुदै निजको मृत्यु भएमा निजको हकवालाले बीमाङ्क र बीमालेखको शर्त अनुसार थप रकम प्राप्त गर्नेगरी गरिएको सम्झौता बुझिन्छ ।

बीमा बचत तथा सुरक्षाको लागि गरिन्छ । बीमा गर्दा थोरै प्रिमियम तिरेपनि विमाङ्क रकममानै बोनस पाइने भएकाले अन्य क्षेत्रमा गरेको लगानी भन्दा बीमामा गरेको लगानीबाट बढी प्रतिफल पाइन्छ । जीवन बीमाले व्यक्तिलाई अनिवार्य बचत गर्न प्रोत्साहित त गर्छ नै यसका साथै थोरै लगानी गरी धेरै आर्थिक सुरक्षा पनि दिने गर्दछ । यसले एकातिर व्यक्ति स्वयंलाई पनि भविष्यको योजना निर्माण गर्न सहयोग पुर्याउंछ भने अर्कोतिर कथंकदाचित निजमाथि कुनै घटना वा दुर्घटना भएमा परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ । त्यसैले भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटनाबाट बच्न एवं बालबच्चाहरुको उज्वल भविष्यको लागि रकम जोहो गर्न समेत प्रत्येक व्यक्तिले आफ्नो क्षमताअनुसार बीमा गर्न अति जरुरी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जीवन अनिश्चित छ, कुनबेला के हुन्छ थाहा हुंदैन । घटना वा दुर्घटनाले धनी गरिब, सानो ठूलो केही भन्दैन । हुनपनि जोखिम नत बाजा बनाएर आउँछ नत यसले कुनै सङ्केत वा सूचना नै दिन्छ । यो त जुनसुकै बेला,जुनसुकै ठाँउमा जोकोहीलाई पनि पर्न सक्दछ । त्यसैले यस्ता जोखिमहरुबाट बच्न , जोखिमहरुबाट हुने क्षति कम गर्न तथा जोखिमको क्षतिपूर्ति प्राप्त गर्न बीमा गर्नु जरुरी छ । बीमाले जीवनको बदलामा जीवन त दिंदैन तर आश्रितहरुलाई आर्थिक भारको मारबाट बचाउँदछ । कुनै धनी व्यक्तिको मृत्यु भएमा उसका छोराछोरीहरु आर्थिक रुपले सुरक्षित हुन सक्लान् तर गरिब तथा न्यून आय भएका व्यक्तिको मृत्यु भएमा उसका छोराछोरीहरु असुरक्षित हुन्छन् । त्यसैले जीवन बीमा धनीहरुको लागि भन्दा न्यून आय भएका हाम्रो जस्तो मुलुकको जनताहरुको लागि अति आवश्यक छ । आज हामी २१ औं शताब्दीको युगमा आइपुगेको अवस्थामा हिड्दा होस् या कुद्दा, गुड्दा होस् या उड्दा जोखिमहरुबीचमा बाँचिरहेका छौं । त्यसैले हामीले आफूलाई आवश्यक पर्ने बीमा योजनाहरुमार्फत जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा प्राप्त गर्न जरुरी छ ।

नेपालमा बीमा व्यवसायको इतिहास धेरै पुरानो छैन । सुरुसुरुमा विदेशी कम्पनीहरुले नेपालमा कार्यालय खोली बीमा अभिकर्ता वा कम्पनीहरुको प्रतिनिधिमार्फत बीमा व्यवसाय सञ्चालन भएको थियो । त्यसपछि नेपालमा बैङ्किङ कारोबारको बृद्धिसंगै बीमाको आवश्यकता महसुस गरी नेपाल बैंक लि। ले वि।सं। २००४ असोज ८ गते आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरी बीमा व्यवसाय सञ्चालन गरेको पाइन्छ । वि.सं.२०२४ पौष १ गते राष्ट्रिय बीमा कम्पनी प्रा।लि। स्थापना भएपछि नेपालमा बीमाको क्षेत्र अगाडि बढेको देखिन्छ । हाल राष्ट्रिय बीमा संस्थानको नामले परिचित यस बीमा कम्पनीले सुरुमा निर्जीवन बीमाको कार्य गरे तापनि वि।सं। २०२९ देखि जीवन बीमाको क्षेत्रमा पनि कार्य गर्दै आएको छ । यसपछि हालसम्म आइपुग्दा जीवन बीमा गर्ने कम्पनीहरुको संख्या डेढ दर्जनभन्दा बढी भैसकेका छन् ।

बीमा गर्दा बीमा गर्ने व्यक्तिले अर्को पक्षलाई जोखिम हस्तान्तरण गर्ने भएकाले बीमा गर्ने व्यक्तिलाई कहिल्यै घाटा हुँदैन । अनि बीमा कम्पनीहरुले पनि अन्य पुनर्वीमा कम्पनीहरुसँग बीमा गरेको हुनाले बीमा कम्पनीहरु भाग्छन् भन्ने जुन मानसिकता हामीबीच छ त्यो सरासर गलत हो । यसका साथै यी बीमा कम्पनीहरुलाई नियमन गर्ने निकाय बीमा समिति छ, बीमा बजारको अनुगमन, निर्देशन तथा बीमितको हित तथा रक्षाको लागि ऐन, नियमावली, निर्देशिकाहरु छन् । त्यसैले आफ्नो तथा आफ्नो परिवारको उज्वल भविष्यको लागि एवं विभिन्न चोरी, डकैति आदि जोखिमहरुबाट बच्न तथा प्राकृतिक प्रकोप, दुर्घटनाबाट आर्थिक सुरक्षा प्राप्त गर्न पनि बीमा गर्नु आवश्यक छ ।

जीवन बीमा गर्दा बीमा अवधिसम्म स्वयं व्यक्ति जीवित रहेमा उसैले बिमाङ्क रकम तथा नियमानुसारको बोनस एकमुष्ट प्राप्त गर्ने र बीमा अवधिभित्र कथं कदाचित निजको मृत्यु भैहालेमा पनि बिमाङ्क रकम तथा बीमालेखको शर्त बमोजित थप रकम समेत बीमितको परिवारले बीमा कम्पनीहरुबाट प्राप्त गर्ने हुनाले केही हदसम्म आर्थिक राहत प्राप्त भै प्राप्त गरेको रकमबाट परिवारको जीविका चल्न सक्छ । त्यसैले जीवनमा आइपर्ने विभिन्न घटनाहरुले निम्त्याउने आर्थिक जोखिम न्यूनीकरण गर्न पनि बीमा गर्न जरुरी छ । अतः जीवन बीमा गरौः आफू र आफ्नो परिवारमा आइपर्ने सबै प्रकारमा जोखिमहरुबाट आर्थिक सुरक्षा प्राप्त गरौं ।

(लेखक लामो समयदेखि बीमा व्यवसायमा आबद्ध हुनुहुन्छ ।)

प्रतिकृया