कक्षा सात विद्यार्थी एक !
प्रकाशित मिति
२०७६ फाल्गुन २५ गते, आईतवार १२:०२
डोटी । डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका २ बग्लेग रिखडा डोटीस्थित बाराहीदेवी आधारभुत विद्यालयको कक्षा ७ मा मात्र १ विद्यार्थी छन् । दुई जना भर्ना भएकामध्ये १३ बर्षीय दानबहादुर साउद भारत गएपछि झर्ना ठकुल्ला कक्षा ७ मा एक्ली छात्रा हुन् । कक्षामा अहिले उनलाई शिक्षक र शिक्षिका एक्लै पढाउने गर्छन् ।
कक्षा ७ मा मात्रै नभएर अन्य कक्षामा पनि विद्यार्थीको खडेरी छ । कक्षा ८ मा ४, कक्षा ६ मा १०, कक्षा ५ मा १४, कक्षा ४ मा २१, कक्षा ३ मा २२, कक्षा २ मा ३६ र कक्षा १ मा ६६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्या घट्दा गुणस्तर बढ्नुपर्नेमा त्यो झन् निराशाजनक स्थितिमा छ । जीर्ण र चुहिने भवनको मुनि बसेर बालबालिका पढ्न बाध्य छन् ।
उक्त विद्यालयमा अहिले दुई कोठाको ब्ल्क बाहेका अन्य कोठाको अवस्था नाजुक रहेको छ। आधारभुत तहमा अस्वभाविक हिसाबले विद्यार्थी घट्दा पनि विद्यार्थी टिकाउन निक्कै गाह्रो भएको विद्यालयका प्राचार्य गोरख खड्काले बताए । विद्यालयका प्राचार्य खड्काका अनुसार अशिक्षा , बेरोजगार र अलि ठूलो हुने बित्तिकै भारत जाने कारणले विद्यार्थी कम हुँदै गएको बताए ।
पूर्वीचौकी गाउँपालिका शिक्षा अधिकृत विनोद भट्टले विद्यार्थी कम हुँदा पढाइको गुणस्तर झन् बढ्नुपर्नेमा त्यसो नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । ‘पढाइको गुणस्तर र सिकाइ उपलब्धि बढाउनमा मुख्य भूमिका शिक्षककै हुन्छ’, भट्टले भने । सुदृढ व्यवस्थापन, स्तरीय सिकाइ र पढाइ मैत्री वातावरण दिनसके सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सकिने उनको भनाइ छ ।
उनले थपे, ‘भौगोलिक बिकटता, अभिभावकको कम चासो, चेतानाको कमी र लामो समयदेखि दुई शिक्षक अनुपस्थित हुनु पनि अर्को कारण रहेको शिक्षा अधिकृत भट्टले बताए । विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्दा पनि विद्यार्थी संङ्ख्या न्यून हुनु दुःखद कुरा रहेको भट्टले बताए । पहाडी जिल्लामा एक कक्षामा ४५ जना विद्यार्थी हुनुपर्ने अवधारणा रहेको भट्टले बताए । सदरमुकाम सिलगढिबाट विद्यालय ८ किलोमिटर टाढा रहेको छ ।
।






प्रतिकृया