कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि पाँच देशको उडान बन्द
प्रकाशित मिति
२०७६ फाल्गुन २० गते, मंगलवार ११:३०
काठमाडौं, सर्वोच्च अदालतले सरकारलाई ५ देशको उडान रोक्न अन्तरिम आदेश दिएको छ । कोरोनाभाइरस संक्रमण र जोखिम देखिएका चीन, जापान, दक्षिण कोरिया, बहरान र इरानकका सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न हिजो (सोमबार) अन्तरिम आदेश दिएको हो ।
संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ । ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले आदेश दिएको छ ।
सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि गम्भीर नभएको भन्दै आइतबार सवोच्च अदालतमा अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए । सर्वोच्चले उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत) को अनिवार्य रूपमा कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ ।
हिजो न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा आदेश दिएको छ ।






प्रतिकृया