भक्तपुरमा अन्तराष्ट्रियस्तरको प्राणी उद्यान बन्दै
प्रकाशित मिति
२०७६ माघ ७ गते, मंगलवार ०७:४०
भक्तपुर । भक्तपुर जिल्लाकोे सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तराष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।
उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुङ्गीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ । उद्यानमा नेपालमा पाइने सबै प्रजातिका जनावर बाघ, गैँडा, हात्ती, चित्तल, मृग, नीलगाई, चौरीगाई, गोही, झारल, हुँडार, हाब्रे, बाँदर, अजिङ्गरलगायत सबै प्रजातिका चरा राखिने छ ।
उक्त जनावर र चराचुरुङ्गीको सहजै अवलोकन र अध्ययन गर्न सकिने गरी प्राणी उद्यान निर्माण गर्न लागिएको हो । सूर्य्विनायक नगरपालिकाको वडा नं. ६, ७ र ८ क्षेत्रको २४५ हेक्टर जमिनमा प्राणी उद्यान निर्माण हुन लागेको हो ।
ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना सूर्य्विनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानमा सारिने छैन । कतिपयले भने सदर चिडियाखा नै सूर्य्विनायकमा सार्ने हो कि भन्ने अन्योल भए पनि सदर चिडियाखाना सूर्य्विनायकमा नसारिने राष्ट्रिय प्राणी उद्यानले स्पष्ट पारेको छ ।
प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै जनावर र जीवजन्तुको अध्ययन अनुसन्धानका लागि पार्क, वन्यजन्तु उपचार केन्द्र, जियोलोजिकल लाइब्रेरी, बोटानिकल लाइबे्ररी, सभा हल, वन्यजन्तुसम्बन्धी अनुसन्धान केन्द्र, वन्यजन्तु शैक्षिक प्रदर्शनी स्थान, मनोरञ्जनात्मक पार्क निर्माण गरिने छ । सूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यान केन्द्रीयस्तरको र सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान निर्माण गरिने गुरुयोजनामा उल्लेख छ ।
प्राणी उद्यान क्षेत्रमा भ्युटावर, गुण्डु, कटुञ्जे र सिपाडोल क्षेत्रमा तीनवटा प्रवेशद्वार निर्माण गरिने छ । सातवटै प्रदेशमा पाइने जनावर चराचुरुङ्गी प्राणी उद्यानमा राखिने छ ।






प्रतिकृया