सांसद बस्नेतद्धारा घ्याम्पेडाँडासम्मको पदमार्ग तथा जीपलाईनको शिलान्यास
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार १०:०६
भक्तपुर, सूर्यविनायक नगरपालिका– ७ स्थिती गुण्डु बस पार्कदेखी घ्याम्पेडाँडासम्मको पदमार्ग तथा जीपलाईनको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिलान्यास गर्नुभएको छ । घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिती तथा ताण्डव इन्भेष्टमेन्ट प्रा.लि.को संयुक्त आयोजनामा शुक्रबार भएको पदमार्ग तथा जीप लाईनको सांसद बस्नेतले शिलान्यास गर्नु भएको हो ।
करिव ५ करोडको लागतमा आगामी तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त दुई आयोजनाको एकै पटक शिलान्यास भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गुण्डु बसपार्कबाट नयाँ संचालनमा आएको पदमार्गबाट पदयात्रा गर्दै कार्यक्रम स्थलमा पुगेर जीप लाईनको शिलान्यास गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई विशेष ध्यानमा राखी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ उक्त आयोजना शुरु गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे सांसद बस्नेतले विकास विरोधी तत्वहरु भक्तपुरवाट क्रमिक रुपमा विदाई हुने बताउँदै आफ्नो नेता तथा कार्यकर्तालाई भरण पोषणमा सिमित रही आफ्नो दुनो मात्र सोझ्याउने मात्र गरेको उल्लेख गर्नुभयो । भक्तपुरमा उद्योगी व्यवसायीलाई निरुत्साहित गर्ने र संकिर्ण सोचाई भएका केही नेताहरुले विकासमा अबरोध पुर्याईरहेको बताउनुभयो । सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभराको ताप्लेजुङ्ग, रसुवाको गोसाईकुण्ड र अन्नपूर्ण बेसक्याम्प गएजस्तै अनुभव हुने गरेको बताउनुभयो ।
पाँच करोडको लागतमा सूर्यविनायकबाट उक्त स्थानसम्म पुग्ने दुई लेनको सडक बनिसकेको उल्लेख गर्दै उहाँले ललितपुरको बालकुमारीबाट १२.५ घ्याम्पेडाँडासम्म पुग्ने छोटो दुरीको रुपमा ४० करोडको लागतमा अर्को सडक निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो । पाण्डुबजारबाट गुण्डु बस पार्कबाट उक्त स्थानसम्म पुग्ने सडक निर्माणको चरणमा रहेको जानकारी गराउँदै उहाँले सडक सञ्जालले जोडिएको क्षेत्र भएकाले पर्यटकीय तथा लगानीमैत्री वातावरणको रुपमा उक्त स्थानको परिचय फेरिदै गएको उल्लेख गर्नुभयो ।
नीजि व्यवसायीलाई नकरात्मक रुपले चर्चा गर्नु गलत भएको उल्लेख गर्दै नीजि क्षेत्रको लगानी नभई विकास र समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उहाँले स्थानीय तहले नक्सा पास तथा करमा निश्चित समयसम्म छुट दिनुपर्नेमा जोड दिनुभयो ।






प्रतिकृया