• २ असोज २०८३, शुक्रबार
  • ७ः३३ बेलुका

लाखमा नक्कली पासपोर्ट

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार १०:११

काठमाडौं, विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ। मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ। मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ। ‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो। तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ।

National Life

गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ। बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ। रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन्। उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो। विमानस्थल कार्यालयले अध्यगमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो। पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करिब एक लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन्।

‘दलालले पासपोर्ट किनेर फर्कंदा सहज हुने सुझाएपछि घरबाट रकम मगाएर पैसा खर्चेर घर फर्कन पासपोर्ट किनेको बयान उनीहरूले दिएका छन्’, राहदानी विभागका महानिर्देशक ईश्वरीराज पौडेलले अन्नपूर्णसँग भने। ‘हामीले राहदानी विभागमा पठाएका छौं। पक्राउ परेको व्यक्ति हिरासतमा छन्’, उनले भने, ‘राहदानी विभागबाट जानकारी आएपछि अन्य कारबाही अघि बढ्छ। उनीहरूलाई एक साताको थुना अनुमति लिएर हिरासतमा राखिएको छ।’ एमआरपीमा वर्ष परिवर्तन गरी फोटो फरक गर्ने घटना हुन थालेपछि अध्यागमन अधिकारी चनाखो बन्दा पक्राउ पर्ने क्रम बढेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

राहदानीमा किर्ते गरेको आधारमा पक्राउ परेकी धनकुटा टोड्केकी दीपा विश्वकर्मामाथि पनि प्रहरीले छानबिन गरिरहेको छ। दीपाले राहदानीमा उमेर र नाम फरक पारेकी थिइन्। मुद्दा विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले दलालले नेपालीलाई विदेशमा पनि ठग्ने गरेको बताए। उनले भने, ‘यो घटनालाई ध्यान दिएर हामी सचेत हुनैपर्छ। दलाललाई निरुत्साहित गर्न सबै निकाय लाग्नुपर्छ।’ यसअघि विदेशमा नेपाली दूतावासले डकुमेन्ट फरक पठाएर एउटा व्यक्तिको राहदानी अर्को व्यक्तिले लिने गरेको घटना सार्वजनिक भएका थिए। कतिपयले नक्कली नागरिकता बनाएर दूतावास कर्मचारीको मिलेमतोमा राहदानी बनाउने गरेको आशंका छ। अन्नपूर्णपोष्टबाट साभार

प्रतिकृया