व्यापार घाटा गत वर्षभन्दा ४२ अर्ब कम
प्रकाशित मिति
२०७६ कार्तिक १७ गते, आईतवार ०९:४८
काठमाडौं, मुलुकको वैदेशिक व्यापारमा सुधार आएपछि यो वर्ष व्यापार घाटा ४२ अर्ब रुपैयाँले घटेको छ। मासिक करिब खर्ब रुपैयाँको व्यापार घाटा रहे पनि पोहोर पहिलो तीन महिनाको तुलनामा यो १२.०२ प्रतिशतले घटेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७६ र ७७ को साउनदेखि असोजसम्मको व्यापार घाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ छ। पोहोर सोही अवधिमा व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ थियो।

विदेशबाट आयात घटेको र त्यसतर्फको निर्यात बढेकाले वैदेशिक व्यापार घाटामा सुधार आएको हो। असोजसम्ममा आयात १०.३४ प्रतिशतले घटेको र निर्यात १४.४१ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ। असोजसम्म तीन खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको सामान आयात भएको छ। पोहोर सोही अवधिमा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको सामान आयात भएको थियो। गत वर्षभन्दा करिब ३९ अर्ब रुपैयाँ कम मूल्यको सामान आयात भएको छ। नागरिक दैनिकबाट साभार



प्रतिकृया