• २० असोज २०८३, मंगलबार
  • १ः२२ दिउँसो

युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार ११:४८

२० असोज २०८३ काठमाडौं – नेपाल जेसीजकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। युवा नेतृत्व, संगठन सञ्चालन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापा कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएकी हुन्।

National Life

सन् २०११ मा जेसीज अभियानमा प्रवेश गरेकी थापाले उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ कार्यकारिणी उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष बनेकी थिइन्। स्थानीय जेसीजको नेतृत्वबाट राष्ट्रिय नेतृत्वमा पुगेकी थापा सन् २०२४ मा नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष निर्वाचित भएकी थिइन्। राष्ट्रिय अध्यक्षका रूपमा उनले देशभरका युवा नेतृत्वसँग काम गर्ने अवसर पाएकी थिइन्।

युवा परिचालन, संगठन सञ्चालन, नेतृत्व विकास तथा सामाजिक अभियानमा काम गरेको यही अनुभवलाई अब राजनीतिक संगठनमा उपयोग गर्ने उनको तयारी छ। स्थानीय तहबाट सुरु भएको जेसीज नेतृत्वको यात्रा नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष हुँदै अन्तर्राष्ट्रिय नेतृत्वसम्म पुगेको छ।सन् २०२६ का लागि थापा जुनियर च्याम्बर इन्टरनेसनल (जेसीआई) को एसिया तथा प्रशान्त क्षेत्रको उपाध्यक्षसमेत निर्वाचित भएकी छन्। जेसीआईको आधिकारिक बोर्ड अफ डाइरेक्टर्समा उनलाई एसिया तथा प्रशान्त क्षेत्रको उपाध्यक्षका रूपमा राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तर्राष्ट्रिय नेतृत्वमा रहेर विभिन्न देशका युवा नेतृत्वसँग सहकार्य गर्ने अवसरले आफूलाई क्षेत्रीयस्तरका नेतृत्व अभ्यास र युवा विकासका विषयमा अनुभव हासिल भएको थापाको भनाइ छ। अब उक्त अनुभवलाई नेपालको राजनीतिक संगठन र नीतिनिर्माणमा उपयोग गर्ने उनको लक्ष्य छ।

कांग्रेसको १५औँ महाधिवेशनले युवा सहभागिता र नयाँ पुस्ताको प्रतिनिधित्वलाई समेत प्राथमिकतामा राखेको छ। संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ।युवा पुस्ताका मुद्दालाई पार्टीको नीति र संगठनसँग जोड्ने, महिला नेतृत्वलाई प्रोत्साहन गर्ने तथा कांग्रेसको संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउने विषयलाई आफूले प्राथमिकतामा राख्ने थापाले बताएकी छन्।

विशेषगरी प्रविधि, उद्यमशीलता, रोजगारी, शिक्षा, विदेशमा रहेका नेपाली युवा तथा सामाजिक परिवर्तनजस्ता विषयलाई राजनीतिक बहसको मूलधारमा ल्याउनुपर्ने उनको धारणा छ। जेसीजको स्थानीय नेतृत्वदेखि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष र अहिले जेसीआईको एसिया–प्रशान्त क्षेत्रको नेतृत्वसम्मको अनुभव बोकेर कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्न लागेकी थापाका लागि यो उम्मेदवारी राजनीतिक यात्राको नयाँ अध्यायका रूपमा अघि आएको छ।कांग्रेसको नयाँ नेतृत्व चयनका क्रममा थापाको उम्मेदवारीले युवा सहभागिता, महिला नेतृत्व र अन्तर्राष्ट्रिय अनुभव बोकेको नयाँ पुस्ताको प्रतिनिधित्वको बहसलाई समेत अगाडि ल्याएको छ।

प्रतिकृया