संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार ११:२९
२० असोज २०८३ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील तथा गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने जोसुकैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन्। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बन गरिएपछि गृहमन्त्री गुरुङले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृह मन्त्रालय र मातहतका निकायबाट हुने सूचना चुहावटको प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्। राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै गुरुङले पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन्।
उनले राज्यबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुनसक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताएका छन्। राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान खेलवाड गर्नु देश र संगठनप्रतिको विश्वासघात हुने भन्दै त्यस्तो प्रवृत्ति सह्य नहुने गृहमन्त्री गुरुङको भनाइ छ।
उनले संवेदनशील सूचनाको संरक्षणमा जिम्मेवार भएर काम गर्न गृह मन्त्रालय र मातहतका निकायलाई समेत सचेत गराएका छन्।








प्रतिकृया