भोटेकोशी बाढी प्रभावित बीमितलाई बीमा प्राधिकरणको राहत, ६ महिनासम्म ब्याज नलाग्ने
प्रकाशित मिति
२०८३ आश्विन १९ गते, सोमबार ०९:३९
१९ असोज २०८३ काठमाडौं — नेपाल बीमा प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित बीमितलाई राहत दिने भएको छ । प्राधिकरणले प्रभावित बीमितलाई ६ महिनासम्म बीमा ब्याज नलिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणले नवीकरण बीमाशुल्क भुक्तानीका लागि थप ६ महिनाको मोहलत दिनसमेत निर्देशन दिएको छ । बीमालेख साथमा नभएको कारण बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसकेको अवस्थामा पनि ६ महिनासम्म ब्याज नलाग्ने गरी मोहलत दिनुपर्ने प्राधिकरणले जनाएको छ । यो सुविधा लिन सम्बन्धित बीमित वा परिवारजनले स्थानीय तह, प्रहरी कार्यालय वा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस पेश गर्नुपर्नेछ ।
त्यस्तै, बाढीपहिरोका कारण बीमालेख हराएको वा नष्ट भएको अवस्थामा बीमा कम्पनीले निःशुल्क रूपमा बीमालेखको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । भोटेकोशीबाट सुरु भएर त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका सर्वसाधारण प्रभावित भएका छन् ।
बाढीका कारण सडक सम्पर्क टुटेर फसेका १३ हजार ३९६ जनाभन्दा बढीको उद्धार गरिएको स्रोतमा उल्लेख छ । त्यस्तै, बाढीपहिरोमा परी १ हजार ३५५ जनाको शव प्रभावित क्षेत्रबाट निकालिएको जनाइएको छ ।








प्रतिकृया