शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? बोर्डले दियो यस्तो ९ बुँदे सुझाव
प्रकाशित मिति
२०८३ आश्विन १९ गते, सोमबार ०९:५३
१९ असोज २०८३ काठमाडौं — नेपाल धितोपत्र बोर्डले शेयर बजारमा नवप्रवेशी लगानीकर्ता तथा विद्यार्थीका लागि ९ बुँदे सन्देश जारी गरेको छ । ‘वर्ल्ड इन्भेस्टर विक’को अवसरमा बोर्डले अध्ययन गरेर मात्र लगानी गर्न, नियमित बचत गर्ने बानी विकास गर्न तथा आफ्नो जोखिम वहन क्षमता हेरेर लगानी गर्न आग्रह गरेको हो ।
बोर्डले प्राथमिक बजारबाट लगानी सुरु गर्दा कम्पनीको विवरणपत्र, वित्तीय अवस्था, व्यवस्थापन पक्ष र क्रेडिट रेटिङ अध्ययन गर्न सुझाव दिएको छ । दोस्रो बजारमा लगानी गर्दा पनि आधिकारिक वित्तीय विवरण, मूल्य संवेदनशील सूचना, कम्पनीको भावी योजना, वित्तीय सूचक तथा बजार प्रवृत्तिको अध्ययन गरेर निर्णय लिन बोर्डले आग्रह गरेको छ ।
सप्ताहव्यापी ‘वर्ल्ड इन्भेस्टर विक’ असोज २५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा आमलगानीकर्ता तथा विद्यार्थीलाई धितोपत्र बजारबारे जानकारी दिइनेछ।
यस्ता छ सुझाव
- सुरुदेखि नै नियमित बचत गर्ने तथा विवेकपूर्ण रुपमा लगानीसम्बन्धी निर्णय गर्ने स्वस्थ वित्तीय बानीको विकास गर्नुहोस्।
- अध्ययन गरेर मात्र लगानी गर्ने गर्नुहोस्।
- धितोपत्र बजारमा लगानी प्रारम्भ गर्दा प्राथमिक बजारमा अंकित मूल्यमा निष्काशन भएका बा सामूहिक लगानी कोषको धितोपत्रबाट लगानी प्रारम्भ गर्नुहोस्।
- प्राथमिक बजारमा लगानी प्रारम्भ गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तरजस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गरी उपयुक्त लागेमा मात्र लगानी गर्नुहोस्।
- आफ्नो प्रतिफलको लक्ष्य र जोखिम बहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण गरी सानो–सानो बचत रकमबाट लगानी सुरु गर्नुहोस्।
- क्षमताका धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सही सूचना लिई जोखिम बहन गर्न सक्ने अमआधारमा लगानीसम्बन्धी निर्णय लिनुहोस्।
- कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा प्रकाशन गरेको वित्तीय विवरण, कार्य सम्पादन स्थिति मूल्य संवेदनशील सूचना, कम्पनीको भावी योजनाहरु, आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, मूल्य प्रवृत्ति र सम्बन्धित उद्योग तथा क्षेत्रको अवस्थालगायत पक्षहरुको अध्ययन गरेर लगानी गर्नुहोस्।
- आफ्नो दीर्घकालीन वित्तीय अवस्थामा नकारात्मक असर पार्न सक्ने उच्च लागतका कर्जाबाट सावधान रहनुहोस्। सम्भव भएसम्म ऋण लिएर लगानी नगर्नुहोस्।
- सामाजिक सञ्जालमार्फत इन्फुन्सरहरुले सिफारिस गरेका तथा लगानीका अवसरहरु भन्दै अत्यधिक प्रचार–प्रसार गराइएका एवं विभिन्न अनलाइन समूहहरुमा विज्ञापनार्थ कृतिम बुद्धिमत्ता (एआई)को प्रयोग गरी उत्पादित सामग्रीबाट सचेत रहनुहोस्।








प्रतिकृया