सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
प्रकाशित मिति
२०८३ आश्विन १६ गते, शुक्रबार ०२:३६
१६ असोज २०८३ काठमाडौं — प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधमा संलग्नलाई कारबाही गर्न ढिलाइ नगर्न सरकारलाई चेतावनी दिएका छन्।शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीका क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले सरकारलाई बिनासर्त साथ दिने बताए।
उनले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे। आन्दोलनका क्रममा भएका हत्या, हिंसा तथा सिंहदरबार र संसद् भवन तोडफोडमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासीनता देखाएको उनको आरोप थियो।
शाहीले लामो समयदेखि चर्चामा रहेका भ्रष्टाचारका ठूला प्रकरणको छानबिन कहाँ पुगेको हो भन्दै सरकारसँग जवाफ मागे। एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिदसम्बन्धी प्रकरणको छानबिनमा भएको प्रगतिबारे स्पष्ट जानकारी दिन उनले माग गरे।
कानुनको प्रयोग प्रतिशोधका लागि नभई न्यायका लागि हुनुपर्नेमा जोड दिँदै उनले आफूहरू सरकारको प्रतिपक्षी भए पनि विरोधी नभएको बताए। ‘यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ। हामी सरकारलाई सही मार्ग देखाउन चाहन्छौँ,’ उनले भने।
रोजगारीको विषयमा समेत गम्भीर चिन्ता व्यक्त गर्दै शाहीले युवाहरू विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरूको विदेशिने लर्को देख्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै रोजगारीको वातावरण बनाउन उनले माग गरे।
युवाहरू विदेशिन नपर्ने वातावरण निर्माण गर्न तथा ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधनको प्रक्रिया अघि बढाउनसमेत उनले आग्रह गरेका छन्।








प्रतिकृया