डीएनए नमुना सुरक्षित राखेर चितवनमा अज्ञात शव गाड्न थालियो
प्रकाशित मिति
२०८३ भाद्र १३ गते, शनिबार ०६:५८
चितवन । भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवनसम्म पुगेका तर पहिचान हुन नसकेका शवहरूको जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ। बुधबारदेखि बाढीमा बगेका शवहरू शनिबारसम्म पनि पहिचान हुन नसकेपछि प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी गाड्न थालेको हो।
चितवनमा हालसम्म २ सय ३३ वटा शव सङ्कलन भएकोमा शनिबार दिउँसोसम्म ६ जनाको पहिचान भएको छ। पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी शव अत्यधिक सडेगलेको र दुर्गन्धित भई चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न लागिएको हो।

शवहरू भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जंगल क्षेत्रमा गाडिनेछन्। सुरक्षाकर्मीको उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी जंगलको बीच भागमा खाडल तयार पारिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शव गाड्नुअघि प्रत्येक शवको डीएनए नमुना सङ्कलन गरी प्रोफाइलिङ गरिएको छ। शनिबार दिउँसोसम्म १ सयभन्दा बढी शवको डीएनए प्रोफाइलिङ पूरा भएको जनाइएको छ।

शवहरू करिब १ दशमलव ५ मिटर गहिरो खाडलमा एकअर्काबीच ४० सेन्टिमिटर दूरी कायम गरी राखिनेछ। प्रत्येक शव वा शवका अवशेषलाई विशेष ब्यागमा प्याक गरी छुट्टाछुट्टै पहिचान नम्बरसमेत राखिएको छ। भविष्यमा पहिचान तथा उत्खनन गर्न सहज होस् भनेर शव पुरिएको स्थानको छेउमा सानो कंक्रिट स्ट्यान्ड निर्माण गरी सङ्केत नम्बर राखिनेछ। साथै फोटो, भिडियो र जीपीएस लोकेसनसहितको विस्तृत विवरण सुरक्षित राखिने प्रहरीले जनाएको छ। शव गाडिएको क्षेत्रलाई घेराबन्दीसमेत गरिनेछ।
बेपत्ता व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा आफ्नो डीएनए नमुना दिन सक्नेछन्। उक्त नमुना चितवनमा व्यवस्थापन गरिएका शवको डीएनएसँग मिलेमा प्रहरीले आफन्तलाई जानकारी गराउनेछ।
त्यसपछि सङ्केत नम्बर र जीपीएस विवरणका आधारमा शव पहिचान गरी प्रहरीको रोहवरमा निकालेर अन्तिम संस्कारका लागि आफन्तलाई बुझाइने जनाइएको छ।
प्रशासनले बाध्यात्मक परिस्थितिका कारण शवहरू जमिनमुनि व्यवस्थापन गर्नुपरेको भन्दै पीडित परिवार तथा सरोकारवालासँग सहयोग र समन्वयका लागि आग्रह गरेको छ।




प्रतिकृया