रसुवाको टिमुरेमा आकस्मिक बाढी, थप विवरण आउन बाँकी
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार १०:३०
१० भदौ २०८३ काठमाडौं – रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको प्रारम्भिक जानकारी आएको छ। उनका अनुसार बजारमा ५–७ वटा घर मात्र बाँकी रहेको सूचना प्राप्त भएको छ भने क्षतिको यकिन विवरण संकलन भइरहेको छ।

इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म ८ जना मात्र सम्पर्कमा आएका छन्। बाँकी प्रहरीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको डीआईजी रेग्मीले बताए।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोलाको आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न र सतर्क रहन आग्रह गरिएको छ।




प्रतिकृया