व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा छ : एफएनसीसीआई अध्यक्ष श्रेष्ठ
प्रकाशित मिति
२०८३ भाद्र ९ गते, मंगलवार ०२:२१
९ भदौ २०८३ काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकमा उद्योगी तथा व्यवसायीहरूको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।
उनले निजी क्षेत्रले शिथिल बजार, कमजोर मनोबल र चुनौतीपूर्ण व्यापार–व्यवसायको अवस्था सामना गरिरहेको बताए । आफ्नो करिब ३६ वर्षको व्यावसायिक यात्रामा व्यवसायीहरूको मनोबल यति कमजोर अवस्थामा कहिल्यै नदेखेको उनको भनाइ थियो ।

‘देशको अर्थतन्त्र एकदम चुनौतीपूर्ण घडीमा छ । निजी क्षेत्रले एउटै चुनौती भोगिरहेको छ, त्यो हो शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसाय । झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै देखेको थिइनँ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले सरकारले बजेटमार्फत विभिन्न महत्वाकांक्षी लक्ष्य अघि सारे पनि ती लक्ष्य कार्यान्वयनका लागि आवश्यक रणनीति प्रभावकारी रूपमा अघि बढेको नदेखिएको गुनासो गरे ।
नयाँ सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उनले पाँचदेखि सात वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्याउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको बताए ।
तर, यी लक्ष्य हासिल गर्न सरकारले कस्ता रणनीति कार्यान्वयन गरिरहेको छ भन्नेबारे निजी क्षेत्रलाई पर्याप्त जानकारी नभएको उनको भनाइ छ ।अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न समग्र आर्थिक प्रणालीको ‘रिइन्जिनियरिङ’ आवश्यक रहेकोमा जोड दिए । निजी क्षेत्रको मनोबल बढाउँदै लगानी र व्यवसायिक वातावरण सुधार गर्न सरकारले ठोस कदम चाल्नुपर्ने उनको धारणा छ ।




प्रतिकृया