• ८ भदौ २०८३, मंगलबार
  • १२:१४ बेलुका

चालु आर्थिक वर्षको ३४ दिनमै सरकारको राजस्व संकलन १ खर्ब नाघ्यो

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार १२:१३

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको ३४ दिनमै सरकारले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँभन्दा बढी राजस्व जम्मा भएको हो।

कार्यालयका अनुसार संकलित कुल राजस्वमध्ये भन्सार महसुलको योगदान १४.५५ प्रतिशत रहेको छ। त्यस्तै, अन्तःशुल्कबाट १५.४६ प्रतिशत र आयकरबाट २२.१७ प्रतिशत राजस्व संकलन भएको छ। यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ३४.०४ प्रतिशत र अन्य शीर्षकबाट १३.७८ प्रतिशत राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Kamana Sewa

सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त लक्ष्यलाई ‘मिसन १६ खर्ब’ का रूपमा अघि सारेका छन्।

Classic Tech Desktop

राजस्व चुहावट नियन्त्रण गर्दै महत्वाकांक्षी लक्ष्य हासिल गर्न अर्थ मन्त्रालय मातहतका निकायलाई ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्री वाग्लेले निर्देशन दिँदै आएका छन्। गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षको राजस्व लक्ष्य ३ खर्ब ३१ अर्ब रुपैयाँ बढी रहेको छ।

राजस्व संकलनको सुरुवाती प्रगतिले सरकारलाई निर्धारित लक्ष्य हासिल गर्ने आधार तयार भए पनि बाँकी अवधिमा राजस्व वृद्धि कायम राख्नु चुनौतीपूर्ण देखिन्छ।

प्रतिकृया