• ९ भदौ २०८३, बुधबार
  • १०:३३ बिहान

उपराष्ट्रपति यादवको जोड : अटोमोबाइल क्षेत्रलाई आयातबाट उत्पादनमुखी उद्योगतर्फ लैजानुपर्छ

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ०३:५६

९ भदौ २०८३ काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको अटोमोबाइल क्षेत्रलाई आयातमुखी व्यापारबाट उत्पादनमुखी उद्योगतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८औँ संस्करणको ‘नाडा अटो शो’ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई आर्थिक गतिविधि, रोजगारी, प्रविधि र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका हुन् ।

Kamana Sewa

यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले नेपाल सवारीसाधन आयातमा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निस्केर स्वदेशमै उत्पादनको आधार तयार गर्नुपर्ने बताए ।

Classic Tech Desktop

उनले ‘नाडा अटो शो’ नयाँ सवारीसाधन प्रदर्शन गर्ने व्यापारिक थलो मात्र नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सम्भावना देखाउने महत्वपूर्ण माध्यम भएको बताए । अटोमोबाइल क्षेत्रमा प्रविधिको तीव्र विकास भइरहेकाले नेपाल त्यसको प्रयोगकर्ता मात्र नभई उत्पादन र नवप्रवर्तनको हिस्सा बन्नुपर्ने उनको भनाइ छ ।

नेपालमै सवारीसाधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट स्वदेशमै रोजगारी सिर्जना हुनुका साथै वैदेशिक मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने बताए ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको भन्दै उनले यसलाई हरित अर्थतन्त्रतर्फ अघि बढ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । वातावरणमैत्री प्रविधिमा आधारित सवारीसाधनको प्रवर्द्धनले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुका साथै मुलुकलाई प्रविधिमैत्री र वातावरणमैत्री बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले नेपालको अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नाडाले थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विश्वस्तरीय प्रविधि र सुरक्षा मापदण्ड नेपाली बजारमा भित्र्याउनुका साथै नेपालमै प्रविधिको विकास र प्रयोग बढाउन निजी क्षेत्र, सरकार र प्रविधि विकासकर्ताबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

अटोमोबाइल क्षेत्रमा देखिएका नीतिगत, प्राविधिक तथा व्यावसायिक चुनौती समाधानका लागि उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद तथा सहकार्यको वातावरण बनाउनुपर्नेमा पनि उपराष्ट्रपति यादवले जोड दिए ।

प्रतिकृया