• ९ भदौ २०८३, बुधबार
  • १०:४१ बिहान

लगानीकर्ताको रकमदेखि गुनासोसम्म : ब्रोकरलाई सेबोनको कडा निर्देशन

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०९:२७

१० भदौ २०८३ काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा लगानीकर्ताको हित संरक्षण गर्दै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूलाई थप जिम्मेवार बनाउने गरी नयाँ निर्देशन दिएको छ।

पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा बोर्डले ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताको रकम, कारोबार तथा गुनासो व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएको हो।

Kamana Sewa

निर्देशनअनुसार ब्रोकर कम्पनीहरूले कार्यालय सञ्चालनका लागि प्रयोग गर्ने रकम र ग्राहकको शेयर कारोबारसँग सम्बन्धित रकम छुट्टाछुट्टै बैंक खातामा राख्नुपर्नेछ।

Classic Tech Mobile

त्यस्तै, शेयर बिक्री गरेपछि लगानीकर्ताले पाउनुपर्ने रकम कारोबार भएको दुई कार्यदिनभित्र अर्थात् ‘टी प्लस टु’ अवधिमै उपलब्ध गराउनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न बोर्डले निर्देशन दिएको छ। शेयर बिक्रीपछि रकम प्राप्त गर्न ढिलाइ हुने गरेको भन्दै लगानीकर्ताबाट गुनासो आइरहेका बेला बोर्डले यस्तो व्यवस्था कडाइका साथ लागू गर्न भनेको हो।

बोर्डले ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताका गुनासा समाधान गर्न छुट्टै लगानीकर्ता गुनासो समाधान इकाई स्थापना गर्नसमेत निर्देशन दिएको छ। उक्त इकाईले प्राप्त गुनासाको अभिलेख राख्दै समाधान प्रक्रिया व्यवस्थित गर्नुपर्नेछ।

ब्रोकर कम्पनीहरूले प्रत्येक महिना प्राप्त भएका गुनासा तथा तिनको समाधानसम्बन्धी विवरणसमेत बोर्डमा बुझाउनुपर्नेछ। महिनाभरि प्राप्त गुनासा र समाधानको विवरण अर्को महिनाको तीन दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, लगानीकर्तालाई शेयर बजार, जोखिम तथा लगानीसम्बन्धी आधारभूत जानकारी प्रदान गर्न प्रत्येक ब्रोकर कम्पनीले महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

बोर्डको नयाँ निर्देशनले ब्रोकर कम्पनीहरूको वित्तीय अनुशासन, लगानीकर्ताप्रतिको जवाफदेहिता र गुनासो व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया