नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त
प्रकाशित मिति
२०८३ भाद्र ४ गते, बिहीबार ०९:३२
४ भदौ २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिपरिषद्मा डेपुटी गभर्नरका लागि रावलसहित डा. दिल्ली पोखरेलको नाम सिफारिस गरेका थिए । मन्त्रिपरिषद्ले रावललाई नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । उनले राष्ट्र बैंकमा करिब २० वर्षदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।

रावलले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधि शोध गरिरहेका छन् । उनले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए तथा समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

सन् २०१९ देखि २०२४ सम्म उनले नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) को प्रमुखका रूपमा समेत काम गरेका थिए । वित्तीय क्षेत्रको नियमन, बैंकिङ सुपरिवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) सम्बन्धी क्षेत्रमा रावलको अनुभव रहेको छ ।
नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि डेपुटी गभर्नर रहेका नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुवै पद रिक्त भएका थिए । सरकारले यसअघि एक डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरिसकेको थियो । रावलको नियुक्तिसँगै राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर पदमा नियुक्ति पूरा भएको छ ।




प्रतिकृया