• २२ साउन २०८३, शुक्रबार
  • ४:१६ बेलुका

मर्दा पनि राज्यको साथ चाहिन्छ : निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न सांसद टिकाको माग

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०२:४१

२२ साउन २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका सङ्ग्रौला (ज्वाला)ले विपन्न तथा गरिब नागरिकको मृत्यु हुँदा राज्यले निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सङ्ग्रौलाले पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न रकम अभाव भएको भन्दै एक विपन्न नागरिकले आफूलाई सहयोगका लागि फोन गरेको घटना सुनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले बिहानै आएको उक्त फोनले आफूलाई निकै दुःखी बनाएको उल्लेख गर्दै बाँचुन्जेल विभिन्न शीर्षकमा कर तिर्ने नागरिकले मृत्युपछि पनि सम्मानजनक अन्तिम संस्कार गर्न नसक्नु दुःखद भएको बताइन्।

Kamana Sewa

सांसद सङ्ग्रौलाले राज्यले नागरिकबाट कर उठाउने मात्र नभई उनीहरूको अन्तिम यात्रामा पनि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्। गरिब र निमुखा नागरिकको मृत्यु हुँदा कम्तीमा दाहसंस्कारका लागि आवश्यक दाउरा, शव राख्ने स्थान र दियासलाईजस्ता आधारभूत व्यवस्था राज्यले निःशुल्क उपलब्ध गराउनुपर्ने उनको माग छ।

Classic Tech Desktop

उनले ‘जसको कोही छैन, उसको सरकार’ भन्ने नारालाई व्यवहारमा लागू गर्न सरकारसँग आग्रह गर्दै जन्मदेखि कर तिरेका नागरिकले मृत्युमा पनि राज्यको साथ पाउनुपर्ने बताइन्।

सांसद सङ्ग्रौलाले विपन्न परिवारलाई अन्तिम संस्कारका लागि खर्च जुटाउनुपर्ने बाध्यता अन्त्य गर्न नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सभामुखमार्फत सरकारसँग आवश्यक पहल गर्न आग्रह गरिन्।

प्रतिकृया