• १५ असोज २०८३, बिहीबार
  • ९ः४७ बिहान

भदौभित्र स्वास्थ्य बीमाको १२ अर्बसम्म बक्यौता भुक्तानी गर्ने सरकारको तयारी

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार १२:५९

२१ साउन २०८३ काठमाडौं – सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको रकममध्ये १० देखि १२ अर्ब रुपैयाँ आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र दीगो बनाउन विभिन्न सुधारका काम अघि बढाइएको जानकारी दिए।

National Life

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य बीमाअन्तर्गत करिब २४ देखि २५ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ। अझै करिब १५ अर्ब रुपैयाँ बक्यौता रहेकामा आवश्यक रुजु प्रक्रिया पूरा गरी भदौभित्र १० देखि १२ अर्ब रुपैयाँ भुक्तानी गर्ने लक्ष्य राखिएको छ।

सरकारले स्वास्थ्य बीमामा निजी अस्पतालतर्फ हुने खर्च घटाउँदै सरकारी अस्पतालको सेवा सुदृढ बनाउने नीति पनि अघि सारेको छ। मन्त्रालयका अनुसार बीमा सेवाग्राहीमध्ये करिब ७ प्रतिशत मात्रै निजी अस्पताल जाने भए पनि बीमाको कुल खर्चको करिब एक चौथाइ रकम त्यहीँ खर्च हुने गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बीमा कार्यक्रमलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहभागिता बढाउने, औपचारिक क्षेत्रका कर्मचारीको तलबबाटै बीमा प्रिमियम कट्टी गर्ने तथा विपन्न नागरिकको प्रिमियम सरकारले व्यहोर्ने व्यवस्था लागू गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। यसबाट वार्षिक २ देखि ३ अर्ब रुपैयाँ थप संकलन हुने अपेक्षा गरिएको छ।

यस्तै, स्वास्थ्य बीमा ऐन संशोधनमार्फत स्थानीय तहका आधारभूत अस्पतालबाट सामान्य स्वास्थ्य परीक्षण र होलबडी चेकअप निःशुल्क उपलब्ध गराउने योजना पनि सरकारले अघि बढाएको छ।

प्रतिकृया