• २४ असार २०८३, बुधबार
  • २:४२ बिहान

अन्तिम १३ मिनेटमा अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार १२:०७

साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको खेलमा फुटबल इतिहासकै एक स्मरणीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ।

मंगलबार राति एटलान्टा स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिना ७८औँ मिनेटसम्म २–० ले पछि परेको अवस्थामा थियो। त्यसपछि इन्जुरी समयसहित अन्तिम १३ मिनेटमा लगातार तीन गोल गर्दै अर्जेन्टिनाले सनसनीपूर्ण जित निकाल्यो र क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो। पराजित इजिप्ट भने प्रतियोगिताबाट बाहिरिएको छ।

Kamana Sewa

खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्‍याए। यसअघि २२औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा अर्जेन्टिनाको अवस्था थप कठिन बनेको थियो।

Classic Tech Desktop

तर ७९औँ मिनेटमा मेस्सीको उत्कृष्ट क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अर्जेन्टिनाको पुनरागमनको सुरुआत गरे। त्यसको चार मिनेटपछि, ८३औँ मिनेटमा मेस्सी आफैँले आकर्षक गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयतर्फ जाने अनुमान भइरहेका बेला ९०+२औँ मिनेटमा एन्जो फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को ऐतिहासिक जित दिलाए। इजिप्टले त्यसअघि पेनाल्टीको माग गरिरहेको अवस्थामा अर्जेन्टिनाले काउन्टर अट्याकबाट गोल गरेको थियो।

खेलपछि मैदानमा भावुक दृश्य देखियो। केही दिनअघि क्रिस्टियानो रोनाल्डो आँसु झार्दै प्रतियोगिताबाट बाहिरिएका थिए भने यसपटक जितपछि मेस्सी खुसीका आँसुमा देखिए।

यस खेलमा गोल गरेसँगै मेस्सी विश्वकप २०२६ मा ८ गोल पुर्‍याउँदै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन्।

खेलको अन्तिम समयमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै इजिप्टका मुख्य प्रशिक्षक होसाम हसन र गोलकिपर शोबेइरले पहेँलो कार्ड पाए भने टोलीका एक सहयोगी स्टाफले रातो कार्ड सामना गरे।

एक समय सहज जितको नजिक पुगेको इजिप्ट अन्तिम १३ मिनेटमा अर्जेन्टिनाको आक्रामक खेलको सामना गर्न नसक्दा विश्वकपबाट बाहिरिन बाध्य भयो भने अर्जेन्टिनाले अविश्वसनीय पुनरागमनसँगै उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ।

प्रतिकृया