आज सार्वजनिक हुँदै नयाँ मौद्रिक नीति
प्रकाशित मिति
२०८३ असार २३ गते, मंगलवार ११:११
२३ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदामाथि व्यवस्थापन तहमा छलफल जारी रहेकाले स्वीकृतिपछि आजै सञ्चालक समितिबाट पारित गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
यसैक्रममा राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक मंगलबार बिहान साढे ९ बजेदेखि बसेको छ। व्यवस्थापन समितिबाट मस्यौदा अनुमोदन भएपछि तत्काल सञ्चालक समितिको बैठक बस्ने र अन्तिम स्वीकृतिपछि नयाँ मौद्रिक नीति सार्वजनिक गरिनेछ।

यस वर्षको मौद्रिक नीतिले अर्थतन्त्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ लचिलो मौद्रिक कार्यदिशालाई निरन्तरता दिने अपेक्षा गरिएको छ। नीति निर्माणमा मौद्रिक औजारको प्रयोग, ब्याजदर करिडोर तथा तरलता व्यवस्थापनजस्ता विषय समेटिए पनि नियामकीय व्यवस्थामा भने ठूलो परिवर्तन नगर्ने तयारी रहेको बुझिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेकाले सोही लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति तयार पारिएको जनाइएको छ। राष्ट्र बैंकको विश्लेषणअनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा केही अनिश्चितता रहे पनि मुलुकभित्र पर्याप्त तरलता भएकाले तत्काल उच्च मुद्रास्फीतिको जोखिम नरहेको आकलन गरिएको छ।
यही आधारमा यस वर्ष पनि बैंकिङ प्रणालीमार्फत निजी क्षेत्रमा कर्जा प्रवाह बढाउने अर्थात् ‘क्रेडिट पुश’ रणनीतिलाई निरन्तरता दिँदै आर्थिक गतिविधि विस्तारमा जोड दिने तयारी राष्ट्र बैंकले गरेको छ।




प्रतिकृया