उच्च शिक्षामा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू, सबै विश्वविद्यालयमा एउटै समयतालिका
प्रकाशित मिति
२०८३ असार १७ गते, बुधबार ०३:५९
१७ असार २०८३ काठमाडौं – उच्च शिक्षाको शैक्षिक गतिविधिलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउने उद्देश्यसहित परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन, २०८० लाई समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो।
मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयलाई यसको कार्यान्वयनका लागि परिपत्र गर्ने निर्णयसमेत गरेको जनाएको छ। विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा तयार पारेको उक्त क्यालेन्डर लागू भएसँगै भर्ना, अध्यापन, परीक्षा, नतिजा प्रकाशनलगायत सम्पूर्ण शैक्षिक गतिविधि निर्धारित समयतालिकाअनुसार सञ्चालन हुने विश्वास गरिएको छ।

आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार परिमार्जित क्यालेन्डरले विश्वविद्यालयहरूबीच शैक्षिक गतिविधिमा एकरूपता ल्याउनुका साथै समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।

सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीको बुँदा नम्बर ८७ मा स्नातक र स्नातकोत्तर तहका परीक्षाको नतिजा मन्त्रालयले तय गरेको शैक्षिक क्यालेन्डरअनुसार सार्वजनिक गर्ने लक्ष्य राखिएको थियो। सोही लक्ष्यअनुसार विश्वविद्यालय अनुदान आयोगमार्फत क्यालेन्डर कार्यान्वयनमा ल्याइएको हो।
विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६(१) का सम्बन्धित व्यवस्थाअनुसार क्यालेन्डर कार्यान्वयन गरिनेछ। साथै, आवश्यक विषयहरू अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम समावेश गरी विश्वविद्यालयहरूलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिइने मन्त्रालयले जनाएको छ।
यसअघि २०८० साल भदौ २९ गते स्वीकृत भएको शैक्षिक क्यालेन्डरलाई बदलिँदो शैक्षिक आवश्यकता र समयअनुकूल बनाउन आयोगले गठन गरेको परिमार्जन समितिको सिफारिसका आधारमा संशोधन गरी नयाँ क्यालेन्डर लागू गरिएको हो।




प्रतिकृया