• १५ असोज २०८३, बिहीबार
  • २ः४३ दिउँसो

देश प्रतिगामी र फाँसीवादी बाटोमा जान सक्दैन : केपी शर्मा ओली

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०४:०५

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिगामी र फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्। उनले फाँसीवादी प्रवृत्तिविरुद्ध लोकतान्त्रिक शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको पनि बताएका छन्।बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सम्पर्क विशेष सङ्गठन कमिटीसँग आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले फाँसीवादी प्रवृत्तिविरुद्ध मिल्न सक्ने सबै शक्तिसँग सहकार्य गर्दै संयुक्त सङ्घर्षमा अघि बढ्नुपर्ने धारणा राखे।

National Life

पार्टी एकताको प्रसङ्ग उल्लेख गर्दै उनले अहिले एमालेका लागि पार्टी एकीकरण आवश्यक नभएको बताए। “यतिबेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो?” भन्दै उनले एमाले देशव्यापी रूपमा सुदृढ संगठन, स्पष्ट विचार र उद्देश्य भएको पार्टी भएकाले अब त्यसलाई अझ बलियो र विस्तार गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए।

अध्यक्ष ओलीले एमालेको नीति, विचार र उद्देश्यलाई स्वीकार गरी पार्टीमा आबद्ध हुन चाहने सबैका लागि ढोका खुला रहेको उल्लेख गर्दै अहिले पार्टी एकीकरणको चरणमा नरहेको स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सरकारको नेतृत्व गर्दा देशको विकास र जनहितका क्षेत्रमा ऐतिहासिक तथा असाधारण काम गरेको दाबी गर्दै एमालेले कुनै गलत काम नगरेको बताए। “हामीले त्याग र तपस्या गरेका छौँ, लोभ–पाप गरेका छैनौँ। हीनताबोध गर्नुपर्ने अवस्था छैन, भविष्य हाम्रै हो,” भन्दै उनले नेता–कार्यकर्तालाई जनतामा फैलिएका भ्रम चिर्दै उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे।

अध्यक्ष ओलीले गत वर्ष भदौ २३–२४ गते भएको घटनालाई एमालेको कमजोरी नभई षड्यन्त्रकारीहरूको अपराध भएको दाबी गर्दै त्यसबेला सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको टिप्पणी गरे। कार्यक्रममा एमालेका उपाध्यक्ष तथा निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया