सांसदका लागि संसदीय प्रक्रिया र नियमबारे दुईदिने अभिमुखीकरण
प्रकाशित मिति
२०८३ असार १५ गते, सोमबार ०१:३८
१५ असार २०८३ काठमाडौं- संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूको संसदीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संसदीय प्रक्रिया, अभ्यास तथा नियमसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। सचिवालयका अनुसार संसद् भवनस्थित सभाहलमा सोमबारदेखि सुरु भएको उक्त कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ।
संसदीय प्रशिक्षण शाखाको संयोजनमा आयोजित कार्यक्रममा सांसदहरूलाई संसदीय कार्यसम्पादनका क्रममा अपनाइने प्रक्रिया, संसदीय अभ्यास, नियम तथा कार्यविधिसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिनेछ।

विशेषगरी नवनिर्वाचित सांसदहरूमा संसदीय कार्यप्रणाली, नियम र प्रक्रियाबारे पर्याप्त जानकारीको अभाव रहेको तथा त्यसले सदनको प्रभावकारी सञ्चालनमा असर परेको भन्ने सार्वजनिक टिप्पणी भइरहेका बेला सचिवालयले क्षमता अभिवृद्धिलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

सचिवालयका अनुसार अभिमुखीकरणबाट सांसदहरूलाई संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान र सीप हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






प्रतिकृया