• १२ असोज २०८३, सोमबार
  • ८ः२५ राती

सेयर बजारमा फैलिएको १% करको हल्ला गलत, सांसद ढकालले दिए स्पष्टीकरण

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार ०१:३२

१५ असार २०८३ काठमाडौं- पछिल्लो समय दोस्रो बजारमा सेयर कारोबार गर्दा १ प्रतिशत कर वा शुल्क लाग्ने भन्ने विषयले सामाजिक सञ्जाल र लगानीकर्तामाझ व्यापक अन्योल सिर्जना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले उक्त दाबी पूर्णतः भ्रमपूर्ण रहेको बताएका छन्।

National Life

सेयर बजारका विषयमा निरन्तर आवाज उठाउँदै आएका सांसद ढकालले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै दोस्रो बजारमा TMS/NEPSE प्रणालीमार्फत हुने नियमित सेयर कारोबारमा ब्रोकरले १ प्रतिशत कर वा शुल्क नलिने बताएका हुन्।

उनका अनुसार दोस्रो बजारमा लगानीकर्ताले सेयर बिक्री गर्दा लाग्ने अन्तिम कर भनेको पूँजीगत लाभकर (Capital Gains Tax–CGT) मात्रै हो, जुन लगानी अवधिअनुसार ७.५ प्रतिशत वा १० प्रतिशत कायम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ढकालले १ प्रतिशत शुल्कको व्यवस्था आम लगानीकर्ताका लागि नभई विशेष प्रकृतिका अफ-मार्केट (Off-market) कारोबारका लागि मात्र लागू हुने स्पष्ट पारे। उनले यस्तो व्यवस्था नियमित दोस्रो बजार कारोबारसँग सम्बन्धित नभएको भन्दै सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरेका छन्।

पछिल्ला दिनमा १ प्रतिशत शुल्कको विषयलाई लिएर बजारमा विभिन्न अड्कलबाजी भएपछि लगानीकर्ताबीच अन्योल बढेको थियो। सांसद ढकालको स्पष्टीकरणसँगै नियमित दोस्रो बजार कारोबारमा नयाँ १ प्रतिशत कर वा शुल्क नलाग्ने विषय स्पष्ट भएको छ।

प्रतिकृया