• ११ असार २०८३, बिहीबार
  • १२:१२ बेलुका

भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प

प्रकाशित मिति

२०८३ असार ११ गते, बिहीबार ०९:०३

११ असार २०८३ काठमाडौं – भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ ३९ सेकेण्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार ७.५ म्याग्निच्युडको मुख्य भूकम्पअघि ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको थियो।

प्रारम्भिक विवरणमा ७.२ म्याग्निच्युडको भूकम्पलाई मुख्य घटना मानिए पनि विस्तृत विश्लेषणपछि अधिकारीहरूले त्यसलाई पूर्वकम्पका रूपमा वर्गीकरण गर्दै ७.५ म्याग्निच्युडको भूकम्पलाई मुख्य भूकम्पका रूपमा दर्ता गरेका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रले यस घटनालाई ‘सेस्मिक डब्लेट’ अर्थात् छोटो समयको अन्तरालमा एउटै क्षेत्रमा दुई ठूला भूकम्प जाने दुर्लभ घटनाका रूपमा व्याख्या गरेको छ।

Kamana Sewa

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको काराबोबो राज्यस्थित मोन्टालबान नगरपालिका रहेको थियो, जुन राजधानी काराकासबाट करिब ३०० किलोमिटर पूर्वमा पर्छ। भूकम्प पृथ्वीको सतहबाट १३.२ किलोमिटर गहिराइमा मात्र गएकोले यसको प्रभाव व्यापक रूपमा महसुस गरिएको बताइएको छ।

Classic Tech Desktop

भूकम्पपछि पुएर्टो रिको र अमेरिकी भर्जिन टापुहरूका लागि सुनामी चेतावनी जारी गरिएको थियो। तर थप मूल्याङ्कनपछि सुनामीको जोखिम नरहेको निष्कर्ष निकाल्दै चेतावनी खारेज गरिएको छ। सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार स्थानीय समयअनुसार साँझ ६ बजेपछिदेखि राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा बलियो धक्का महसुस गरिएको थियो। सामाजिक सञ्जालमा भूकम्पका अनुभवहरू व्यापक रूपमा साझा गरिए पनि क्षतिको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन। भेनेजुएलाको भूकम्पीय अनुसन्धान प्रतिष्ठान (फनभिसिस) ले सम्भावित क्षतिको मूल्याङ्कन जारी राखेको जनाएको छ।

यसअघि सन् २०१८ मा पनि भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। सुक्रे राज्य केन्द्रबिन्दु रहेको उक्त भूकम्पको असर ब्राजिल, गुयाना तथा विभिन्न क्यारिबियन राष्ट्रहरूसहित कम्तीमा १० देशमा महसुस गरिएको थियो।

हालसम्म मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक नभए पनि अधिकारीहरूले प्रभावित क्षेत्रको अवस्था निगरानी गरिरहेका छन्।

प्रतिकृया