• ३१ भदौ २०८३, बुधबार
  • ११ः०२ राती

दमक–१० मा बर्ड फ्लु पुष्टि, कुखुरा र अण्डा कारोबारमा प्रतिबन्ध

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार १०:११

९ चैत,२०८२ दमक – दमक नगरपालिका–१० मा संचालित एक लेयर्स कुखुरा फार्ममा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुरा, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

National Life

नगरपालिकाका अनुसार, फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो। उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणको आवतजावत रोकिएको छ। फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ।

नगरप्रमुख रामकुमार थापाले सङ्क्रमण नियन्त्रणका लागि सबै आवश्यक कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। पशु विकास अधिकृत विपु अधिकारीका अनुसार सङ्क्रमित फार्मका कुखुरा स्वास्थ्य मापदण्ड अनुसार नष्ट गर्ने तयारी भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार विज्ञसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी सङ्क्रमित तथा शङ्कास्पद कुखुरा नष्ट गर्ने काम गर्नेछ। दमक–१० मा हाल करिब २५ कुखुरा फार्म सञ्चालनमा रहेका छन्।

नगरपालिकाले असामान्य रूपमा कुखुरा बिरामी हुने वा अचानक मर्ने घटना देखिएमा तत्काल जानकारी गराउन र मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा कुखुराजन्य सामग्री प्रयोग गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया